• १२ साउन २०८१, शनिबार

मौलिक सम्पदा र संस्कृति संरक्षणमा सक्रिय बन्दै युवा पुस्ता

blog

कला, संस्कृति संरक्षणमा सक्रिय कीर्तिपुरका युवा पुस्ता ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २४ गते।  सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहित प्रादेशिक संरचनामा नेपाल गइसकेपछि मौलिक सम्पदाको संरक्षण र सम्बद्र्धनको लागि युवा पुस्ता खुलेर आएका छन्।  

युवाको सक्रियता बढेकाले कीर्तिपुर क्षेत्रमा केही वर्षदेखि निरन्तर रुपमा बाँसुरी, दाफा (दापा), धिमे, धाँ, नाय्खी, काँ बाजा बजाउन आकर्षण बढेको छ।  यसअघि दुई दशकसम्म यहाँका युवा पाश्चात्य सङ्गीतमा रमाउने गर्थे। 

वरिष्ठ सङ्गीतकार तीर्थ मालीले केही वर्षदेखि बाँसुरी, दाफा (दापा), धिमे, धाँ, नाय्खीलगायतका बाजागाजाहरुमा युवा पुस्ताको आकर्षण बढेकाले आफूहरुलाई भ्याईनभ्याई हुने बताउनुहुन्छ। 

कीर्तिपुर नगरपालिकालाई सांस्कृतिक पहिचानसहितको विशेष नगर घोषणा भएपछि यहाँका गुठीगाना, खलः पुच, सांस्कृतिक समूह र नाट्यमण्डलीहरुको जन्म भइरहेका छन्।  

प्रत्येक हप्तामा कुनै न कुनै समूहहरुले लामो समयको अभ्यास गरेर वाद्यवादन, सांस्कृतिक नृत्य, गायनकला र मौलिक पोशाकलाई पुनः जिवन्त गर्ने काम भएका हुन्छन्। 

यसैबीच, कीर्तिपुर नगरपालिकाको वडा नम्बर ७ स्थित यतुगः बाँसुरी खलःले सात महिने बाँसुरी वाधन सफलतापूर्वक प्रशिक्षणपछि आइतबार पाँगास्थित नाट्यश्वेर मन्दिरमा सार्वजनिक गरेको छ। 

करिब तीन दर्जनको हाराहारीमा १६ वर्षदेखि ७२ वर्ष उमेरसम्मका प्रशिक्षार्थीले बाँसुरीको प्रशिक्षण लिनुभएका थिए। 

संघीयता, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक प्रतिनिधित्वसहितको समाजवादी राज्यव्यवस्था निर्माण गर्ने दिशामा रहेको बेला ९० प्रतिशत महिला सहभागितामा उक्त प्रशिक्षण सम्पन्न भएको हो। 

हाकुपटासी र गरगहणामा ज्यापू पहिरणमा सजिएर बाँसुरी बजाइरहनुभएकी सगुन तिमिल्सेनाले मौलिक पहिचानसहित नेपालको संस्कृतिमा टेवा पुर्याउने र समाजप्रति उत्तरदायित्व बहन गर्नका लागि आफूले गैरनेवार समुदाय भए पनि प्रशिक्षण लिएको प्रतिक्रिया दिनुभयो। 

नेपालका सबै संस्कृति नेपालको संस्कृति भएकाले पनि सबै नेपालीले अपनत्व लिँदै वास्तविक नेपाल निर्माण गर्नको लागि पनि यस्ता बाजागाजालगायतका संस्कृतिको संरक्षण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण हुने मंगल बहुमुखी क्याम्पसमा अध्ययनरत तिमिल्सेनाल बताउनुहुन्छ। 

यस्तै, उज्ज्वल शिशु निकेतनमा अध्यापन गर्नहुने उरुशा महर्जनले परापूर्वकालदेखि चल्दै आएको संस्कृति, रीतिरिवाज, बाजाजागा, भेषभुषालाई अन्तर्राष्ट्रियकरण गर्न सके नेपालको पर्यटनको क्षेत्रमा थप समृद्धिकरण हुने प्रतिक्रिया दिनुभयो।  

सात महिने प्रशिक्षण वरिष्ठ वाद्यगुरु फुलबहादुर महर्जन, वरिष्ठ सङ्गीतकार तीर्थ माली र वाद्यगुरु पंकज महर्जनले बाँसुरीका सबै विधाका वाद्यवादन सिकाउनुभएको यतुगः बाँसुरी खलःका व्यवस्थापन सदस्य अर्जुन महर्जनले बताउनुभयो।