• १२ साउन २०८१, शनिबार

‘काठमाडौँवासीलाई मेलम्चीको पानी खुवाउन ढिलो गर्नुहुँदैन’

blog

नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रममा । तस्बिर : अध्यक्षको सचिवालय

गोरखापत्र अनलाइन

सिन्धुपाल्चोक, मंसिर २४ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्न सरकारले ढिलाइ गरेको भन्दै चाँडो व्यवस्थापन गर्न सरकारसँग आग्रह गर्नुभयो ।  

मुहान सफा गरेर वा अन्यत्र सारेर भए पनि सरकारले काठमाडौँवासीका लागि पानीको व्यवस्थापन गर्न ढिलाइ गर्न नहुने उहाँको भनाइ छ । पार्टीको झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा आइतबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

एमाले नेतृत्वको सरकारले मेलम्चीको पानी काठमाडौँ पुगाए पनि त्यसलाई पुनः व्यवस्थापन गर्न वर्तमान सरकारले ढिलाइ गरेको उहाँको भनाइ छ । अध्यक्ष ओलीले जनतालाई निराश नहुन आग्रह गर्दै अब बन्ने एमाले नेतृत्वको सरकारले मुलुकको समृद्धिको काम गर्ने दाबी गर्नुभयो । एमालेले देशलाई बिग्रन नदिने उहाँले विश्वास दिलाउनुभयो । 

अध्यक्ष ओलीले भन्नुभयो, ‘यस सङ्कल्प यात्राको क्रममा अहिलेसम्म लाखौँ जनताको साथ र सहयोग पाइएको छ । जनताको आत्मीयता, माया, स्नेह, सम्मान प्राप्त भएको छ । साथ दिनुहुने यहाँहरूलाई धेरै धन्यवाद भन्न चाहन्छु ।’ देशको विकास र समृद्धिको योजना एमालेसँग भएको भन्दै उहाँले आगामी दिनमा त्यसकालागि एमालेले नेतृत्वदायी भूमिका खेल्ने बताउनुभयो ।

‘मेलम्ची आयोजनाको कुरा हामीलाई थाहा छ । एमालेको सरकार हुँदैन थियो भने मेलम्चीको पानी काठमाडौँमा झर्ने नै थिएन । कथा हालेर मेलम्चीको पानी काठमाडौँ झर्दैन’ अध्यक्ष ओलीले थप्नुभयो, “मेलम्चीको मुहान मर्मत, सम्भार जे गर्नुपर्छ गर्नुपर्छ । त्यसलाई कतिबेर बन्द गर्ने, कतिबेर खोल्ने भन्ने कुरा पनि सञ्चालकहरूले थाहा पाउनुपर्छ । यसलाई पुनः हामी व्यवस्थापन गरेर पानी खुवाउँछौँ ।”


एमालेले देश बिग्रन नदिने उहाँले प्रतिबद्धता जनाउनुभयो । “हाम्रो देश अहिले आर्थिक रूपले ओरालो लागेको छ । यसलाई रोक्छौँ । फेरि सकारात्मक बाटोमा फर्काउँछौँ” अध्यक्ष ओलीले थप्नुभयो, “तपाईँहरू ढुक्क हुनुस् यो देशमा नेकपा एमाले पार्टी छ । समृद्ध नेपाल: सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई आफ्नो गन्तव्य बनाएर हिँडेको छ ।  यहाँको विकास, निर्माण कसरी गर्नुपर्छ हामीले बुझेका छौंं ।”

अध्यक्ष ओलीले यात्राको क्रममा सोमबार (भोलि) दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सो दलले जनाएको छ ।