• १५ मंसिर २०८१, शनिबार

फाइल घुमाएर ढिलासुस्ती गर्ने विकास बाधक : प्रमुख शेरचन

blog

कार्यक्रममा बोल्नुहुँदै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, मंसिर २४ गते । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले नेपालमा सरकारी क्षेत्रमा हुने ढिलासुस्ती नै विकासको बाधक भएको बताउनुभएको छ ।  उहाँले विकास निर्माणका फाइल यता र उता बोकेर हिँड्नुपर्ने प्रवृत्ति हटाउनुपर्ने सुझाव दिनुभयो ।  

लुम्बिनी अटोमोबाइल्स एसाेसियन अफ नेपाल (नाडा लुम्बिनी) को तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन कार्यक्रमको उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले झन्झटिलो कर प्रणालीले दुःख दिएको बारे आफूलाई राम्रो ज्ञान भएको उल्लेख गर्नुभयो । 

शेरचनले भन्नुभयो, ‘म अहिले ८१ वर्षमा हिँडिरहेको छु, केही दिनमा ८२ लाग्छु । मैले संसदमा हुँदा वा बाहिर हुँदा पनि व्यावसायिक समस्याका बारेमा धेरै पटक बोलेको छु । एउटा फाइल बोकरै हिँड्दा ६ महिना जान्छ । कसरी विकास हुन्छ ? फाइल बोक्ने र घुमाउने प्रवृत्ति हटाउनुपर्छ ।’

देशका व्यवसायी समस्यामा पर्नेगरी ६–६ पटक कर तिर्नुपर्ने झन्झटिलो प्रणालीलाई हटाउन आफूले केन्द्र सरकारसँग माग गरेको उहाँले बताउनुभयो । कुनै बेला नेपालबाट खाद्यान्नलगायत बस्तु लग्ने भारतजस्तो देश विश्वकै आर्थिक रूपमा शक्तिशाली देश बन्न सफल भएको उदाहरण दिँदै उहाँले नेपाल गरिबीको तथ्याङ्क हेर्दा भुटानभन्दा पनि पछिपरेको दुखेसो गर्नुभयो ।

सरकार आमनागरिकको समस्याप्रति सोच नबनाई केवल राजस्व सङ्कलन गरी देशको आर्थिक समृद्धिको सोचमा विगतबाट सबै सरकारको मानसिकता रहँदा यो अवस्था आएको उहाँको गुनासो छ ।

कार्यक्रममा नाडा केन्द्रका अध्यक्ष डा. ध्रुवबहादुर थापाले व्यावसायिक कठिनाइको बेला नेतृत्व लिएको स्मरण गर्दै समयचक्र घुमेर पुनः सही रूपले आउने बताउनुभयो  । 

नाडाका निवर्तमान अध्यक्ष कृष्ण दुलालले गाउँबाट अटो व्यवसायीलाई सङ्गठित गर्दै हकहितमा लाग्न जरुरी रहेको बताउनुभयो । देशमा कुल ५० लाख सवारी साधन नपुगेको भन्दै उहाँले व्यवसायीहरू कर तिरेर सरकारलाई सहयोग गर्दैआएको बताउनुभयो  ।

उद्योगी करण चौधरीले अटोमोबाइल्स व्यवसायीलाई हकहितका लागि एकताबद्ध हुन आग्रह गर्नुभयो । बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि अर्यालले व्यावसायिक हितसँगै संस्थागत विकासमा हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो  ।

गोरखापत्रकर्मी सम्मानित 

रुपन्देहीमा क्रियाशील गोरखापत्रकर्मी कपिल ज्ञवाली सम्मानित हुनुभएको छ । पत्रकारिताको माध्यमबाट अटो मोवाइल्स क्षेत्रको प्रचारप्रसारमा उल्लेखनीय योगदान दिएको भन्दै लुम्बिनी अटोमोबाइल्स एसाेसियन अफ नेपाल (नाडा लुम्बिनी) को तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनमा उहाँलाई नगद तथा कदरपत्रले सम्मान गरिएको हो । 


सो अवसरमा बुटवल टुँडेमा कार्यरत पत्रकार स्वस्तिक श्रेष्ठ, उत्कृष्ट सेवा गर्ने ट्राफिक प्रहरी निरीक्षक शोभा पाण्डे, कपिलवस्तु जिल्लामा कार्यरत प्रहरी नायव निरीक्षक दामोदर मल्ल, बुटवलमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार कमल खनाल र हाल रोल्पामा कार्यरत प्रहरी हवल्दार नवीन भण्डारीलाई नगदसहित सम्मान गरिएको महासचिव रोशन पाण्डेले बताउनुभयो ।