• ६ माघ २०८१, आइतबार

सञ्चार क्षेत्रको विकासमा गम्भीर हुनुपर्छ : सभामुख मण्डल

blog

कार्यक्रममा सम्बोधन गर्नुहुँदै सभामुख मण्डल । तस्विर: धर्बेन्द्र झा

धर्बेन्द्र झा 

धनुषा, मङ्सिर २४ गते । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मधेश प्रदेशका सञ्चार क्षेत्रको विकासमा तीनै तहका सरकारको भूमिका महत्त्वपूर्ण भएको बताउनुभएको छ । 

नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले आइतबार जनकपुरधाममा आयोजना गरेको सञ्चार क्षेत्रको सबलीकरणमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

प्रदेशको सञ्चार क्षेत्रलाई प्रदेश सरकारले प्रवर्धन गर्नुपर्ने तर प्रदेश सरकार आफै सबल नभएको कारण प्रदेश सरकारलाई सबल बनाउन उहाँले जोड दिनुभयो ।  देशमा सङ्घीयता आए पनि केन्द्रीकृत मानसिकता हाबी भएको उहाँको भनाइ छ । 

दलाल पुँजीवादका कारण देशका कलकारखाना बन्द भएर देशमा रोजगारीको अभाव भएको र यसले विभिन्नखालका समस्याहरू निम्त्याउने गरेको बताउनुभयो । उहाँले हरेक क्षेत्रको स्वतन्त्र रूपमा अनुगमन गर्ने भूमिका पत्रकारको रहेको चर्चा गर्दै पत्रकारिता क्षेत्रमा समेत विकृति देखिएको उहाँले चर्चा गर्नुभयो । 

देशको परिवर्तनमा सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण रहँदैआएको चर्चा गर्नुहुँदै सभामुख मण्डलले सञ्चार क्षेत्र सिर्जनात्मक हुन आवश्यक रहेको सुझाव दिनुभयो । उहाँले सञ्चार क्षेत्रका  समस्या देखाउनुभन्दा समस्याको पहिचान गरी समाधानका उपाय खोज्न नेपाल पत्रकार महासङ्घसँग आग्रह गर्नुभयो । 

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य रामकृष्ण यादवले सञ्चार क्षेत्र मजबुत नभएमा लोकतन्त्र मजबुत नहुने बताउनुभयो । सत्तास्वार्थका कारण देशमा राजनीतिक अस्थिरता बढेको र अपेक्षाअनुसार कानुनको समेत निर्माण हुन नसकेको बताउनुभयो । 

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहले देशको आर्थिक अवस्था कमजोर रहेकै कारण जनकपुरधाम उपमहानगरपालिकालाई सङ्घ सरकारले दिने अनुदान रकम समेत कटौती गरेको चर्चा गर्दै धनुषा जिल्लाका सञ्चार माध्यमलाई नीति बनाएर सहयोग गर्न तयार भएको बताउनुभयो । 

नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष मनिका झाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी सञ्चारकर्मी र मिडिया सञ्चालकले राजनीतिक दलहरूले आवश्यकता परेको समय सञ्चार माध्यमलाई प्रयोग मात्र गर्नेगरेको आरोप लगाउनुभयो । 

कार्यक्रममा आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले आम सञ्चार प्राधिकरणले गरेका कामकाज र पत्रकार वीरेन्द्र रमणले धनुषामा सञ्चार क्षेत्रको अवस्था विषयमा आफ्नो प्रस्तुति राख्नुभएको थियो ।