• २१ वैशाख २०८१, शुक्रबार

देववाणीलाई नमुना बनाउन सुझाव

blog

कार्यक्रममा सहभागी अतिथिहरु ।

बिन्दु थापा 

पाल्पा, मंसिर २४ गते । पाल्पाको तानसेन नगरपालिका–२ नारायणस्थानस्थित देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालयको पठनपाठनलाई देशकै नमुना बनाउन सरोकारवालाले सुझाव दिएका छन् । 

विद्यालयको वार्षिकोत्सवको पूर्वसन्ध्यामा आयोजित स्वास्थ्य सेवा शिविर कार्यक्रममा वक्ताहरूले यस्तो सुझाव दिनुभएको हो । पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दैगएको सरकारी सहयोगमा सञ्चालित यस विद्यालयमा भौतिक संरचना पर्याप्त मात्रामा नहुँदा कठिनाइ भोग्नुपरेको विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर थापाले बताउनुभयो । 

उहाँले तानसेन नगरपालिकाले विभिन्न समयमा आर्थिक तथा विद्यालयलाई आवश्यक सहयोग गरेको भए पनि क्षेत्रफल कम हुँदा तानसेनकै विद्यार्थीलाई भर्ना गर्न नपाएको जानकारी दिनुभयो । 

लुम्बिनी प्रदेशका पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर रानाले शैक्षिक गुणस्तरका कारण यो विद्यालयले जिल्लाकै अब्बल पहिचान बनाएको बताउँदै अब विद्यालयको भौतिक संरचनामा सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले विद्यालयमा आफ्ना बालबालिका अध्ययन गराउन रुचाउनेहरू बढिरहेको बताउँदै तानसेन नगरपालिकाभित्र सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पनि कक्षा सञ्चालन हुनु गौरवको विषय भएको बताउनुभयो । 

प्रत्येक शुक्रबार अतिरिक्त कार्यक्रम सञ्चालनले पनि विद्यार्थी यस विद्यालयप्रति थप आकर्षित बनेका हुन् । कक्षाकोठामा अन्तरक्रियात्मक रूपमा शिक्षण गर्ने गरिन्छ । किताबको सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक शिक्षामा जोड दिइएकाले यही विद्यालयलाई रोजेको विद्यार्थी शिशिर गौतमले बताउनुभयो ।