• १२ साउन २०८१, शनिबार

सहकारीद्वारा घाटखर्च सहयोग

blog

सहकारीका सेयर सदस्यको परिवारलाई घाट खर्च उपलब्ध गराउँदै । तस्बिर : सुजल श्रेष्ठ

सुजल श्रेष्ठ

प्युठान, मङ्सिर २४ गते । विजय फूलबारी बचत तथा ऋण सहकारी संस्थाले नयाँ अभ्यासको थालनी गर्दै शेयर सदस्यहरूलाई सुत्केरी भेटघाट तथा घाट खर्च सहयोग सुरु गरेको छ । 

सहकारीमा आबद्ध सदस्यको हितका लागि सहकारीले सो व्यवस्था सुर गरेको जनाएको छ । सहकारीमा आबद्ध महिला सदस्य सुत्केरी भएमा सहकारीका सञ्चालक समितिका सदस्य कोसेलीसहित भेटघाटका लागि पुग्नेगरेको अध्यक्ष नेत्रमणि आचार्यले बताउनुभयो । 

सहकारी सदस्य तथा सदस्यको एकाघरको परिवारका सदस्यको निधन भएमा राहत सहयोग गर्दैआएको सहकारीका अध्यक्ष आचार्यले बताउनुभयो । सदस्यको मृत्यु भएमा २५ हजार रुपियाँ राहत र सदस्यको परिवारको मृत्यु भएमा दुई हजार पाँचसय रुपियाँ घाटखर्च उपलब्ध गराउनेगरेको उहाँको भनाइ छ ।

आर्थिक वर्ष २०७९/८० मा सहकारीले २९ जना सुत्केरी महिला सदस्यलाई भेटघाट गरेको छ । भेटघाटका लागि कोसेली स्वरूप एक क्यारेट अण्डा लैजाने गरिएको सहकारीका व्यवस्थापक प्रकाश वैद्यले जानकारी दिनुभयो । २०७९/८० मा पाँचजना मृतक सदस्यको परिवारलाई २५ हजारका दरले एक लाख २५ हजार सहयोग गरेको छ । त्यस्तै, ६३ जना सदस्यको परिवारको मृत्यु भएपछि दुई हजार पाँचसयको दरले १ लाख ५७ हजार पाँच सय सहयोग प्रदान गरिएको उहाँले बताउनुभयो ।

पाँच हजार दुईसय ६९ जना सदस्य सङ्ख्या रहेको सहकारीको शेयर पुँजी दुई करोड ४९ लाख ७९ हजार रुपियाँ रहेको छ । कुल बचत १८ करोड ५७ लाख ४६ हजार ३०२ रुपियाँ रहेको छ । सहकारीले १६ करोड ६२ लाख ९६ हजार ९२६ रुपियाँ ऋण लगानी गरेको जनाएको छ ।