• १७ असार २०८१, सोमबार

सिन्धुलीका स्थानीय तहमा आधारभूत अस्पताल बन्दै

blog

सिन्धुली अस्पतालमा लिफ्ट सहितको सुविधा सम्पन्न निर्माण हुँदै गरेको अढाई तले भवन ।

बाबुराम देवकोटा 

सिन्धुलीमाढी, मङ्सिर २४ गते । सिन्धुलीमा नौ वटै स्थानीय तहले १५ शय्याको आधारभूत अस्पताल बनाउन सुरु गरेका छन् । नागरिकलाई स्थानीय स्तरमा नै आधारभूत स्वास्थ्य सेवाको सुविधा दिन धमाधम १५ शय्याको अस्पताल निर्माण गरेको स्थानीय तहले जनाएको छ । 

मरिण गाउँपालिकाले भने गत साउनदेखि उक्त अस्पताल बनाउन सुरु गरेको हो । मरिण गाउँपालिका–७ महेश्वतामा १५ शय्याको अस्पताल भवन निर्माणका लागि शिलान्यास भएर धमाधम निर्माण भइरहेको गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त अस्पताल आगामी आर्थिक वर्ष २०८१-०८२ को मङ्सिरसम्ममा सक्नेगरी स्काई विल्डर्स प्रा.ली. नयाँबानेश्वर काठमाडौँले अस्पताल भवन निर्माणको जिम्मा लिएको छ । 

सङ्घीय सरकारको १६ करोड ७१ लाख ५८ हजार २५७ रुपियाँ सहयोगमा निर्माण सुरु भएको उक्त अस्पताल भवन तीन तलाको हुनेछ । सात वटा वडाहरू रहेको मरिण गाउँपालिकामा छ वटा सामुदायिक स्वास्थ्य इकाई, दुई वटा स्वास्थ्य चौकी, एक-एक वटा प्राथमिक स्वास्थ्य केन्द्र र आयुर्वेदिक औषधालय गरी १० वटा स्वास्थ्य संस्था रहेको गाउँपालिकाले जनाएको छ । 

जग्गा विवादका कारण दुई वर्षदेखि १५ शय्याको आधारभूत अस्पताल भवन निर्माणको काम रोकिएको सुनकोशी गाउँपालिकामा अहिले निर्माण प्रक्रिया अगाडी बढेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ओम प्रकाश झाका अनुसार सात वटा वडाहरू रहेको उक्त गाउँपालिकामा ११ वटा स्वास्थ्य संस्थाहरू छन् । 

गोलञ्जोर गाउँपालिकामा पनि उक्त अस्पताल निर्माणका लागि नक्सा(डिजाइन) पुरा भई टेण्डर प्रक्रियामा रहेको छ । गाउँपालिका अध्यक्ष शङ्कर बरालले नेपाल सरकारको नभई दातृ निकायको सहयोगमा उक्त अस्पताल निर्माण हुन लागेको र अबको दुई महिनाभित्र टेण्डर गर्ने प्रक्रियामा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, "अस्पतालको लागत करिब १२ करोड रुपियाँ रहने छ। यो नेपाल सरकारको नभई बाहिरबाट दाता खोजी निर्माण गर्न लागिएको हो ।"

फिक्कल गाउँपालिका–३ चनौटेमा दुई वर्षदेखि १० शय्याको अस्पताल भवन निर्माणाधीन अवस्थामा छ । भवन निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ । हरिहरपुरगढी गाउँपालिका–२ रतनपुरमा पनि १५ शय्याको आधारभूत अस्पताल निर्माणाधीन छ । राम्रो उपचार गर्न बिरामीलाई अस्पताल खोज्दै अन्यत्र जानु पर्ने अवस्था रहेको र पालिकाले आफ्ना नागरिकलाई स्थानीयस्तरमा नै आधारभूत स्वास्थ्य सेवा दिन उक्त अस्पताल बनाउन सुरु गरेको गाउँपालिका उपाध्यक्ष चेखबहादुर थिङले बताउनुभयो।

त्यस्तै दुधौली नगरपालिका–५ मा अस्पतालको भवन निर्माणाधीन अवस्थामा रहेको छ । घ्याङलेख गाउँपालिका–३ सोलाभञ्याङमा डिपिआर भएको वर्ष दिन बितिसक्दा पनि अस्पताल भवन निर्माणको काम अगाडी बढ्न सकेको छैन । जग्गा विवादका कारण रोकिएको निमार्ण कार्य चाडै सुल्झाएर निर्माण कार्य अगाडी बढाइने पालिकाले जनाएको छ 

जिल्लाको तीन पाटन गाउँपालिकाले चकमके बजारमा पनि सङ्घीय सरकारको १७ करोड ९१ लाख रुपियाँको लागतमा दुई वर्षदेखि १५ शप्याकाे आधारभूत अस्पताल निर्माण गरी रहेको छ । गाउँमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा परिणत गरी भवन बनाउन सुरु गरिएको र अब एक वर्षभित्र सक्ने योजना रहेको गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरले जानकारी दिनुभयो ।

कमलामाई नगरपालिका–६ मा सिन्धुली जिल्लाकै सबैभन्दा ठुलो सरकारी स्वास्थ्य संस्था जिल्ला अस्पतालको नयाँ भवन निर्माण सम्पन्न भई हस्तान्तरणको प्रक्रियामा छ । चार वर्ष अघिसम्म बिरामीहरूलाई सेवा प्रवाह गरी रहेको जीर्ण पुरानो भवन भत्काई त्यही ठाउँमा अहिले चार वटा ब्लकमा अपाङ्गमैत्री (लिफ्ट) सहितको सुविधा सम्पन्न आधुनिक अढाई तले भवन निर्माण भएको अस्पताल विकास समितिले जनाएको छ ।

समितिका अनुसार उक्त भवन सङ्घीय सरकारको सहयोगमा भ्याट बाहेक २१ करोड ९८ लाख ३७ हजार ८१३ रुपियाँको लागतमा हनुमान कन्स्ट्रक्सने निर्माण गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष शतिष ढकालले बागमती प्रदेश सरकारले उक्त अस्पतालको क्षमता विस्तार गरी एक सय शप्या बनाउन लागेको जानकारी दिनुभयो । सिन्धुली जिल्ला हुँदै बिपी राजमार्ग, मदनभण्डारी राजमार्ग र मध्यपहाडी लोकमार्ग निर्माण भई यातायात सञ्चालन भएकाले सिन्धुली अस्पताललाई कम्तीमा पनि एक सय शय्याको बनाउन लागिएको बताइएको छ ।