• १२ साउन २०८१, शनिबार

बैङ्कहरू मिटरब्याजीजस्तो हुनुहुँदैन : अध्यक्ष ओली

blog

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नुवाकोट कार्यक्रममा । तस्बिर : अध्यक्ष ओलीको सचिवालय

गोरखापत्र अनलाइन

नुवाकोट, मंसिर २४ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका बैँकहरू मिटरब्याजीजस्तो हुन नहुने बताउनुभएको छ । आइतबार झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत नुवाकोटमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । 

बैङ्कले निर्मम साहु, मिटरब्याजी तरिकाले नभएर विकासका लागि सहयोगी र अनकुल संस्थाको रूपमा काम गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । बैङ्कले जुन सर्तमा व्यवसायीलाई ऋण दिएको हो, त्यो सर्त पालना गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । बैङ्क र ऋणहरूबिच ब्याजदरलगायतका विषयमा सर्त पालना नभएर दुवैपक्षबीचको सहमतिमा ब्याजदर घटबढ गर्नुपर्ने उहाँको सुझाव छ । 

उहाँले पछिल्लो समय बैङ्क र ऋणीबिचको सहमतिमा ब्याजदर घटबढ गर्ने नियमावलीमा लेखिएको भए पनि घट्ने हुँदै नहुने तर बढ्ने मात्र भइरहेको टिप्पणी गर्नुभयो । बैङ्कले एकलौटी ब्याज बढाउन नपाउने व्यवस्था गर्नुपर्ने उहाँको सुझाव छ । अध्यक्ष ओलीले बैङ्कहरूले कर्जाको ब्याजदरलाई सिङ्गल डिजिटमा ल्याउनु पर्ने बताउनुभयो । उहाँले अप्ठ्यारोमा परेका व्यवसायीलाई केही समयका लागि म्याद थप गरेर उद्यम व्यवसाय सहयोग गर्न आग्रह गर्नुभयो । 

बैङ्कहरूले व्यवसायीको व्यवसाय डुब्न लाग्यो भने सहायता गरेर त्यसलाई थप ऋण दिएर उठाउने र आफ्नो ऋण लिने अवस्था सिर्जना गर्नुपर्ने अध्यक्ष ओलीले सुझाव दिनुभयो । अध्यक्ष ओलीले अप्ठ्यारोमा परेको बेला ऋणीहरूको गज्जबको जग्गा रहेछ भन्दै लिलामीमा राख्ने तरिका उपयुक्त नभएको बताउनुभयो । उहाँले बैङ्कमा ऋण लिनेहरू फालाफाल भएकाले अहिले बैङ्कले ऋण लिनेको महत्त्व बुझ्न नसकेको बताउनुभयो । बैङ्क र ऋणीहरूको सम्बन्ध तनावको रूपमा नभई सुमधुर हुन आवश्यक रहेको अध्यक्ष ओलीले चर्चा गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘बैङ्कबाट जुन सर्तमा ऋण दिएको छ त्यो सर्त पालना हुनुपर्छ । एकलौटी बढाउन नपाउने व्यवस्था हुनुपर्छ । अहिलेको अवस्थामा ऋणको ब्याजलाई सिङ्गल डिजिटमा ल्याउनुपर्छ ।’ बैङ्कले निर्मम साहुजी होइन, मिटरब्याजी तरिका होइन, बैङ्कले विकासको लागि सहयोगी र अनुकूल संस्थाको रूपमा काम गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । 


अध्यक्ष ओलीले वर्तमान सरकारले सार्वभौम सत्ताको सम्मान गर्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले आफू प्रधानमन्त्री भएको बेला बनाएको पोखरा विमानस्थलमा वर्तमान सरकारले उडान भर्न नसकेको भन्दै आपत्ति जनाउनुभयो । 

पोखराजस्तै भैरहवा विमानस्थलमा समेत वर्तमान सरकारले जहाज उडाउन नसकेको चर्चा गर्दै अध्यक्ष ओलीले त्यसको व्यवस्थापन गर्न सरकारसँग आग्रह गर्नुभयो । अध्यक्ष ओलीले नेपाल विकासमा फड्को मार्न चाहेकाले जसले सस्तोमा बनाइ दिन्छ उसैलाई आयोजना बनाउन दिनुपर्ने बताउनुभयो ।