• १७ असार २०८१, सोमबार

यु–१९ एसिया कप : नेपाललाई अफगानिस्तानले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

blog

अफगानिस्तानको विकेट लिएपछि नेपालका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, मङ्सिर २४ गते । एसिसी यु–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाललाई अफगानिस्तानले जितको लागि २६२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । 

संयुक्त अरब इमिरेट्स (युएई) स्थित आइसिसी एकेडेमी ओभल २ मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९.३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ६१ रन बनायो । 

अफगानिस्तानका लागि जस्मित जर्दानले अविजित एक सय ६ रनको सतकीय पारी खेल्नुभयो । उहाँले एक सय ५२ बलमा आठ चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो । नुमन शाहले ६०, रहिमुल्लाह जुरमतिले ३५, वाफिल्लुहा ताराकहिलले १५, खलेल अहमदले १३ र खलिद तानिवालले १० रन बनाउनुभयो । 

बलिङमा नेपालका हेमन्त धामी, सुवास भण्डारी र गुलशन झाले दुई दुई विकेट लिनुभयो । आकाश चन्द र दीपेश कँडेलले एक एक विकेट झार्नुभयो । नेपाललाई सेमिफाइनल यात्रा जीवित राख्न आज अफगानिस्तानलाई हराउनुपर्ने बाध्यता छ । 

नेपाल समूहको पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो । यता अफगानिस्तानलाई पनि अगाडि बढ्न नेपाललाई रोक्नुपर्ने चुनौती छ । अफगानिस्तान पनि आफ्नो पहिलो खेलमा भारतसँग सात विकेटले नै पराजित भएको थियो ।

एसिया कपमा नेपाल समूह ‘ए’ मा छ । यस समूहमा निकै बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तान छन् । समूह ‘बी’ मा आयोजक युएई, जापान, बङ्गलादेश र श्रीलङ्का छन् । एसिया कपलाई एक महिनापछि दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी यु–१९ विश्वकप तयारीको रूपमा समेत लिइएको छ ।

नेपालले समूहको तेस्रो तथा अन्तिम खेल २६ गते भारतसँग खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।