लक्ष्मण पौडेल
भैरहवा, मङ्सिर २४ गते । बुद्ध जन्मस्थल लुम्बिनीमा भएको निःशुल्क आँखा शिविरबाट तीन हजार ७५५ जना सर्वसाधारणले निःशुल्क उपचार सेवा लिएका छन् । राजकीय थाई विहार लुम्बिनीको आयोजनामा थाइल्याण्ड र नेपालका आँखा रोग विशेषज्ञहरुको उपस्थितिमा भएको शिविरबाट रुपन्देहीको लुम्बिनी, कपिलवस्तु र रामग्रामका स्थानीयहरुले लाभ लिएका हुन् ।
चार दिनसम्म सञ्चालन गरिएको शिविरमा चेकजाँच गराएकामध्ये ९०९ जना मोतियाविन्दुका बिरामीहरुको शल्यक्रिया गरिएको राजकीय थाई विहारले जनाएको छ । विहारका प्रमुख भिक्षु सुफोतले लुम्बिनी वरपरका मानिसहरुलाई सेवा दिने उद्देश्यले १४ औं संस्करणका रुपमा निःशुल्क आँखा शिविर गरिएको बताउनुभयो । तिलगङ्गा आँखा अस्पताल काठमाडौंका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रोइत, थाइल्याण्डका नेत्ररोग विशेषज्ञ अनुचित पोनाथ्याङ, डा. नवत वातानाची, डा. स्वात कौशाकुलसहितको स्वास्थ्यकर्मीहरुको टोली आँखा शिविरको उपचारमा खटिएको थियो ।
थाइल्याण्डका राजा भूमिबोल अदुलयादेजको स्मृतीमा निःशुल्क आँखा शिविर गरिएको हो । राजकीय थाई विहार लुम्बिनी, तिलगङ्गा आँखा अस्पताल काठमाडौं, थाई राजदूतावास काठमाडौं समेतको आयोजनामा बुद्ध जन्मस्थलमा निःशुल्क आँखा शिविर गरिएको हो ।
लुम्बिनीमा विगतदेखि नै तिलगङ्गा आँखा अस्पतालले राजकीय थाई विहार लुम्बिनीसँग समन्वय र सहकार्य गर्दै आँखा शिविर गर्दै आएको अस्पतालका बाह्य कार्यक्रम अधिकृत नामखेन लामाले जानकारी दिनुभयो । उहाँले बुद्ध जन्मस्थल वरपरका सर्वसाधारणहरु स्वास्थ्य पहुँचबाट टाढा रहेकाले निःशुल्क आँखा शिविर गर्ने गरिएको बताउनुभयो । सर्वसाधारणमा आँखाका सम्बन्धमा हेलचेक्र्याइँ र आर्थिक अवस्था कमजोर हुने भएकाले आँखा शिविर गर्ने गरिएको थाई विहार लुम्बिनीका प्रमुख भिक्षु सुफोतले बताउनुभयो ।
विहारले बुद्ध र यससँग जोडिएका क्षेत्रका नागरिकहरुलाई प्रत्यक्ष फाइदा पुग्ने क्षेत्रमा सक्दो सामाजिक कार्य गर्दै आएको छ । यसअघि विहारले आधुनिक प्रविधिबाट घुँडा प्रत्यारोपण, भूकम्प प्रभावितहरुलाई सहयोग जस्ता सामाजिक कार्य गर्दै आएको छ ।
४४० सय जनाको निःशुल्क दन्त उपचार
त्यस्तै, राजकीय थाई विहार लुम्बिनीकै आयोजनामा निःशुल्क दन्त शिविर पनि सञ्चालन भएको छ । चार दिनसम्म चलेको दन्त शिविरमा ४४० जनाले निःशुल्क उपचार गराएका छन् ।
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) भैरहवा, थाई राजदूतावास काठमाडौं र लुम्बिनी स्वर्णभूमि फाउण्डेशनसँगको सहकार्यमा दन्त शिविर गरिएको हो । निःशुल्क दन्त शिविरमा दाँतको सफाई र उपचार गरिएको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवाका डा. सुभाष कुमारले जानकारी दिनुभयो ।
थाइल्याण्डका दन्तरोग विशेषज्ञ डा. मोन्थन नेतृत्वको चारजना स्वास्थ्यकर्मी र मेडिकल कलेजका डा. दीपक यादव, डा. उपासना त्यागी र सुबोध कुमारसहित १० जना स्वास्थ्यकर्मीहरु दन्त शिविरमा खटिनुभएको थियो ।