• १९ वैशाख २०८१, बुधबार

इरानद्वारा १३ हजार अवैध अफगान आप्रवासी निष्कासित

blog

काबुल,  मङ्सिर, २४ गते ।  इरानले १३ हजार २०४ जना अवैध अफगान आप्रवासीलाई निष्कासन गरेको छ । 

खोरासान रजावीका सीमा सुरक्षा कमाण्डर माजिद शोजाइले १३ हजार २०४ अवैध अफगान आप्रवासीलाई इरानबाट निष्कासन गरिएको बताउनुभएको छ । खामा प्रेसले उल्लेख गरे अनुसार शुक्रबार पत्रकारहरूसँगको कुराकानीमा शोजाईले अवैध आप्रवासीहरूलाई निष्कासन गरिनुपर्नेमा जोड दिनुभएको छ । 

उहाँले गैरकानुनी रूपमा देश प्रवेश गर्न चाहने वा गैरकानुनी रूपमा यहाँ बसिरहेका अफगान नागरिकहरूलाई पक्राउ गरी निष्कासन गरिने बताउनुभएको छ । 

पछिल्ला महिनाहरूमा इरान र पाकिस्तानबाट अफगान आप्रवासीहरूलाई निष्कासन गर्ने प्रक्रियाले तीव्रता पाएको छ । 

हालै इरानका आन्तरिक मामिला मन्त्रीले चार लाख अफगानी आप्रवासीलाई देशबाट निष्कासन गरिएको घोषणा गर्नुभएको थियो ।

शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तका अनुसार इरानमा बसोबास गर्ने जनसङ्ख्याको ६ प्रतिशत अफगानी नागरिक छन्। रासस/एएनआई