• १५ मंसिर २०८१, शनिबार

गुल्मीमा ३४ लाख बक्यौता रकम असुल

blog

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मी । तस्विर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, मङ्सिर २४ गते । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीले पछिल्लो एक महिनामा करिब ३४ लाख बक्यौता रकम असुल गरेको छ । लामो समयदेखि विद्युत्त महसुल नतिरेका ग्राह्रकहरुबाट ३३ लाख ८४ हजार ८१८ रुपियाँ ८१ पैसा बक्यौता उठाएको केन्द्रका लेखा प्रमुख विष्णु न्यौपानेले जानकारी दिनुभयो ।  

यस अवधिमा २३९ ग्राहकहरुको लाइन काटिएको र उनीहरुबाट ५६ लाख ५५ हजार ६६८ रुपियाँ २४ पैसा बक्यौता उठाउनुपर्ने देखिएको छ । लाइन काटिएकामध्ये दुई सय ८ जनाले रकम बुझाएर लाइन जोड्नका लागि निवेदन दिएकाले पुनः लाइन जोडिएको केन्द्रले जनाएको छ । जसबाट ३३ लाख ८४ हजार ६६८ रुपियाँ २४ पैसा बक्यौता रकम उठेको न्यौपानेले बताउनुभयो ।

जिल्लामा सबैभन्दा बढी सगुन कन्ट्रक्सन तथा निर्माण सेवाले १२ लाख ४९ हजार ४०२  रुपियाँ बक्यौता बुझाउनुपर्ने देखिएको छ । सगुनको पनि लाइन काटिएको कार्यालयले जनाएको छ । उक्त निर्माण कम्पनीले कालीगण्डकी करिडोर रिडी हर्मिचौर सडक खण्डको कालोपत्रे गरेको छ । उक्त कम्पनीले क्रसर उद्योग चलाएको र विद्युत् बक्यौता रकम नतिरेकाले लाइन काटन बाध्य भएको कार्यालयले जनाएको छ ।

जिल्लामा राजनीतिक दलका पार्टी कार्यालय, सरकारी कार्यालय, लिफ्टिङ खानेपानी ,सङ्घ संस्था र सर्वसाधारणले विद्युत् महसुल नतिरेको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । महशुल नतिर्ने ग्राहकहरुमा पाँच हजारदेखि लिएर १२ लाख रुपियाँसम्मको बक्यौता रकम छ । 

जिल्लास्थित सरकारी कार्यालय, राजनीतिक दल र अन्य सङघ संस्थालाई महसुल तिर्न चेतावनीसहितको पत्राचार गरिएको केन्द्रका प्रमुख अर्जुन पोखरेलले जानकारी दिनुभयो । यसका साथै जिल्लाका सञ्चार माध्यमहरुबाट महसुल तिर्न सूचना पनि प्रसारण गरिएको भन्दै अटेरी ग्राहकहरुको लाइन काटेरै छाड्ने पोखरेलले चेतावनी दिनुभयो ।