• १२ साउन २०८१, शनिबार

अक्षर र कक्षामै बितेको जीवन

blog

सत्रवर्षे उमेरमा एसएलसीपछि महिनाको तिस रुपियाँ तलब खाने गरी मास्टर भएको हो उहाँ धनकुटाको बालमन्दिरमा । काठमाडौँबाट पढेर फर्किएका तुलसी दिवसले चित्रकला र कविता लेखनमा हुटहुटी जगाएपछि कलम र कुची पनि चलाएको हो । स्थानीय पत्रिकामा १७ सालमै कविता र १८ सालमा गोरखापत्रमा समालोचना छापिएपछि त धनकुटाका टोपी साहु (सूर्यबहादुर श्रेष्ठ) का छोरा भनेर चिनिने दयाराम श्रेष्ठको परिचयमा मास्टर, चित्रकार, कवि, समालोचक पनि थपिँदै गयो । धनकुटाको सिरानबजारबाट काठमाडौँको बागबजार सँगै (पुतलीसडक) मा आएर बस्न थालेपछि त उहाँको जीवनको अध्यायहरू थपिँदै गए । ८१ वर्षको उमेरमा हिँडिरहनुभएका दयाराम सरका पाइला अझै चलायमान छन् । कलम चलेकै छ, प्राध्यापकीय दायित्व छुटेको छैन । हो छुटे धेरै कुरा, ६३ वर्षसम्म सहयात्रा गरेकी  जीवनसङ्गिनीको साथ छुट्यो, चार दशकअघि गधेपच्चिसी पनि नटेकेको छोरा दुर्घटनामा परेर बितेको पीडा, गत वर्षमात्र पैँतालिस पनि नकाटेको अर्को छोराको निधनले एक्लो जस्तो बन्नु भएको छ उहाँ  । साहित्यमा सँगसँगै लेखन गरेर अघि बढेका साथीहरू पनि छुटे । 

 मेरा त साथीहरू पनि धेरै गइसके, अबको साथी भनेकै यिनै लेखन, अनुसन्धान हुन् । 

अलि दुब्लो शरीरका  गम्भीर अनुहारका उहाँ उही मसिनो आवाजमा दुखेसो पोख्नु हुन्छ ।

आठ दशक काटिसक्दा पनि फुर्सद भनेको कमै पाउने उहाँको फुर्सदको समय जुर्न पुग्यो कात्तिकको तेस्रो साता ।  बल्खु कुमारी क्लब हुँदै अघि बढेपछि भेटिने दयाराम सरको घरमा टेकेको छु र देखेको छु पुरस्कार र सम्मानका फ्रेमहरू । बुहारी, दुई वटी नातिनीका साथ बित्छ उहाँको समय । बढी समय त साहित्य र अनुसन्धानमै बित्छ, अझै पनि नथाकेको शरीर अध्यापनमा काठमाडौँ पुतलीसडक ओहोर दोहोर गर्नुहुन्छ । धनकुटाको सिरानबजारबाट काठमाडौँको बागबजारसम्म आएर बस्दासम्म विद्यार्थीको परिचय बोकेर आएको हो उहाँले । त्यसो त त्यति नै खेर अग्रज तुलसी दिवसको हुटहुटीले चित्रकला र कविता लेखनतिर प्रेरित नभएको कहाँ हो र ? नाटक लेखन र निर्देशनमा समेत सव्रिmयता थियो एक ताका, त्यही ताका सम्झनुहुन्छ अझै पनि–

विजय मल्लको ‘भोलि के हुन्छ ?’ नाटकमा अशेष मल्ललाई भूमिका दिएर नाटक निर्देशन सिकाएको थिएँ । 

यी सबै इतिहासको कुनै पातामा वा कतै कसैको स्मृतिमा रहेको होला । उसो भए वर्तमान ? वर्तमान दयाराम श्रेष्ठलाई धेरैले सव्रिmय प्राध्यापक, सफल समालोचक, लगनशील अनुसन्धानकर्ता, साहित्य साधक भनेर चिन्छ, सम्मान गर्छ । 

अबको उमेर, अवस्था मेरा लागि यी नै भएका छन् साथी । 

उहाँ फेरि दोहो-याउनु हुन्छ । 

हुन पनि अब गर्नुपर्ने काम र अनुसन्धानका थाक लागेका छन् । साहित्य सँगसँगै संस्कृति र राष्ट्र चिनाउने सम्पदाहरूमा पनि त्यत्तिकै चासो छ उहाँको  ‘राष्ट्रिय झन्डा’ लेखेर मदन पुरस्कार पाइसकेको उहाँ ‘सगरमाथाको गाथा’, ‘हाम्रो जातीय हतियार खुकुरी’ जस्ता कृतिहरू प्रकाशनको तरखरमा लाग्नुभएको छ ।  

१७ वर्षको उमेरदेखि निरन्तर लेख्दै आएको जीवन ८१ वर्षसम्म आइपुग्दा लेख्नुपर्ने, खोज अनुसन्धान गर्नुपर्ने विषय र सूची लामै छन् । लेखाइ उचाइ छोइसक्ने अवस्थामा त पुगेको छ नै लेखनका माध्यमबाट उहाँको व्यक्तित्वले उचाइ छोइसकेको छ । कविता, नाटक लेख्दै अलि पछि समालोचना लेख्न थालेको हो उहाँले । त्यही पछि सुरु गरेको विधा समालोचनाले नै अहिलेको डा. दयाराम श्रेष्ठ बनाउन पुग्यो । 

खोज, अनुसन्धान, समालोचना लेख्दा, सङ्कलन–सम्पादन गर्दा खेप्नुपर्ने टीका टिप्पणी मात्र होइन गाली गलौज गर्नेहरू पनि भेटिन्छन् । आफ्ना रचनालाई नराम्रो भनिदिएको पटक्कै नरुचाउने उहाँलाई आफ्नै मेहनत, परिश्रमलाई टिप्पणी गरेको सुन्दा मन त पर्दैन तर पनि लेखेर सार्वजनिक भएपछि त यी सबै सहनै पर्दोरहेछ । 

समालोचकका रूपमा पहिले उहाँ आफ्नै लेखनको समालोचनाबाट थाल्नुहुन्छ । लेखनका सुरुका दिन समाएको कविता विधालाई चटक्क छाड्नुको कारण पनि यही रहेछ ।

मेरो पहिलो रचनाका रूपमा त कविता नै प्रकाशमा आएको हो, पहिले लेखेँ पनि कविता । पछि आफैँलाई के लाग्यो भनेँ कविता लेखेर मबाट पार लाग्दैन । पछि समालोचना लेख्न थालेपछि त यसैमा बढी केन्द्रित हुन थालेँ । पहिले लेखेका कविता, नाटक लेखन छुटे । तिनलाई समेटेर कृति निकालुँ जस्तो पनि लागेको छैन ।  

प्राध्यापकीय समालोचना भनेको चाहिँ के हो नि ? कतिपय सन्दर्भमा सर्जकहरूले यसमा प्रश्न पनि उठाउने गर्छन् ? 

सुरु सुरुमा त म पनि प्राध्यापकीय समालोचना  नै लेख्थेँ । त्यसमा पनि नेपाली पढाउनेहरू प्रायःले आफूले पढाएको कुरालाई थपथाप पारेर तयार गर्ने समालोचनालाई प्राध्यापकीय समालोचना भनिएको हो । मेरो पहिलो समालोचनाको कृति ‘सन्दर्भ र मूल्याङ्कन’ पनि त्यही कोटीको हो । कलेज पढाउँदा विद्याथर््ीलाई सहयोग पुग्ने खालका सबै रचना त्यसमा समेटिएका छन् । 

अहिले कस्तो समालोचक त तपाईं ? 

म त खोज, अनुसन्धानमा केन्द्रित भएर समालोचना लेखिरहेको छु । मैले जति पनि काम गरेँ ती सबै अनुसन्धानमै केन्द्रित छन् । मेरो मान्यता के छ भने समालोचक अघि अघि जाने होइन, पछि बस्ने हो । लेखकलाई अघि जान दिएर आफू पछि बसेर उसको लेखन, गतिविधि हेरेपछि मात्र लेखनको भित्री बाहिरी देख्न सकिन्छ । म अहिले त्यही बाटोमा लागेको छु । यसरी काम गर्दा मैले कथामा प्रशस्त काम गरेको छु । पछिल्लो प्रकाशन कथा दर्शन प्रकाशमा आएपछि त म अत्यन्त सन्तुष्ट भएको छु आफ्नै लेखनबाट । सबैको  आआफ्नै हेराइ हुन्छ, मेरो पहिलो कृति ‘सन्दर्भ र मूल्याङ्कन’को भूमिका लेख्ने बालकृष्ण पोखरेलले मलाई धाप मारेर ‘तैँले समालोचना लेख्छस्’ भनेर हौसाएको हिजो जस्तो लाग्छ । 

पच्चीस वर्षका नेपाली कथा, भारतीय नेपाली कथा, कथायन, झपटका दस कथा, पुष्कर शमशेरका कथा, नेपाली कथाको समकालीन सन्दर्भ, तलतल– बालकृष्ण समका कथाहरूको सङ्ग्रह), भीमनिधि तिवारीका प्रतिनिधि कथा, प्रज्ञा आधुनिक नेपाली शब्दकोशको सम्पादनले नै उहाँको काम स्पष्ट पार्छ । यीबाहेक अभिनव कथाशास्त्र, नेपाली कथा र कथाकार, कथा दर्शन उहाँका कथाकेन्द्रित कृति हुन् । समालोचकको रूपमा सुपरिचित उहाँका समालोचना र अनुसन्धानका समेत गरी अन्य १५ वटा कृति प्रकाशित छन्  । 

कथा विधामा कलम नचलाउने दयाराम श्रेष्ठ कथाकेन्द्रित किन बन्नु भयो त ? 

म कलेज पढ्दै कथातिर आकर्षित थिएँ । त्यति बेलाका कथाकारहरूका कथा पढेर प्रभावित भएको हुँ । त्यति खेरै राम्रा राम्रा कथा सम्पादन गरेर कृति पनि तयार गरेर उत्तम कुँवरलाई प्रकाशनका लागि दिएको पनि हुँ तर उनले अहिले हतार नगर्नु भनेर छाप्न मानेनन । 

अचेलको कथा त्यति आकर्षक छैनन् । स्तर खस्केको छ । कथाकारमा भिजनको कमी देख्छु, अध्ययन पनि छैन । समाजभित्रका कैयौँ पाटाहरूको उजागर गर्न हाम्रा कथाकारहरूले अझै सकेका छैनन् । कथालाई विभिन्न नाम दिएर छुट्याउने काम पो गर्दै आइरहेका छन् । मेरो विचारमा त लघुकथा, सूत्रकथा वा जेसुकै भनेर कथालाई भिन्न गर्न खोजिएको छ त्यो उचित होइन । लघुकथालाई तपाईं कसरी अलग विधा भन्न सक्नुहुन्छ ? अलग विधा हुन त ब्लड फरक हुनुप¥यो नि । कथाको सानो रूप मात्र हो । हो, लघुकथा भनेर अलग इतिहास लेख्न सकिन्छ तर कथा विधाभन्दा फरक त कसरी भन्न सकिन्छ र ? 

साहित्यमा लाग्दा कविता लेख्दा बौद्ध दर्शनबाट प्रभावित भएर जन्मको अर्थमा सम्भव भनेर दयाराम सम्भव बन्नुभएका उहाँलाई धेरैले पोसिबिलिटीको अर्थमा बुझिदिए । उहाँले नसोचेको कुरा अरूले सोचिदिए । दयाराम सम्भवबाट डा. दयाराम श्रेष्ठसम्म आइपुग्न उहाँले विद्यावारिधि पर्खनुभयो र अनि सम्भव विगत मात्र बन्न पुग्यो । बल्खु, कुमारी क्लबबाट अलि भित्रतिर लागेपछि भेटिने घरमा उहाँ नाममा देखिएको अन्योलबारे खुलस्त पार्दै हुनुहुन्थ्यो । 

पटक पटक काठमाडौँ टेक्दै देख्दै आएको उहाँ २०३० सालमा त्रिभुवन विश्वविद्यालयमा पढाउन थालेपछि उहाँका पाइला यतै अडिए । पचास वर्षको काठमाडौँ बसााइका व्रmममै लेखिए उहाँका कृतिहरू । पहिलो कृतिबाहेक समस्त कृतिको सिर्जना यही थलोमा गर्नुभयो उहाँले । कथाकेन्द्रित समालोचना र अनुसन्धानमा लाग्ने उहाँको जीवनका रोचक र पीडाका कथा पनि गनिसाध्य छैन, भनिसाध्य छैन । दुःख बेहोर्नै त आफैँले हो सुख बाँड्ने अरूलाई भने जस्ते अक्षर र अध्यापनका माध्यमबाट जीवनलाई अघि बढाउँदै जाँदा उमेर बढेको पनि पत्तो नहुँदो हो । म ८१ वर्षको उमेरमा अहिले त यस्तो छु, पहिले उमेर छँदा कस्तो थिएँ हुँला ? एउटा सन्तोषको आवाजबाटै बुझ्न सकिन्थ्यो डा. दयाराम श्रेष्ठलाई थकाइको अर्थ थाहा छैन वा यसो भनौँ थकाइ उहाँका लागि प्रिय छैन । हुँदो हो त गर्नुपर्ने काम र लेख्नुपर्ने योजनाका चाङ कसरी लाग्थे र ? 

जीवनमा सके जति गर्ने हो जस्तो त लाग्छ । पढ्ने, पढाउने, लेख्ने, सम्पादन गर्ने, अनुसन्धान गर्ने तर एउटा मान्छेले कति नै गर्न सकिन्छ र ? अब त एक्लो छु । मैले सोचेको काम अरूले गरिदिए पनि त हुन्थ्यो नि जस्तो त लाग्छ  । जे जति गरे पनि म आफूलाई सरल सम्झन्छु । ममा घमण्ड छैन, नाम बिकाउने मेरो स्वभाव होइन । कतिपयले सोझो भन्छन्, म सोझो होइन, इमानदार चाहिँ हुँ । 

जीवनको  यो उमेरमा आइपुग्दा दयाराम सरलाई आफू पढाउने, लेख्ने, समालोचना गर्ने, अनुसन्धान गर्ने मान्छेका रूपमा अरूले चिन्छन् भन्ने ठान्नुहुन्छ । किशोर अवस्थादेखि नर्सरीका विद्यार्थीलाई पढाउन थालेको मान्छे विद्यावारिधिका कैयौँ विद्यार्थीसम्मलाई पढाएको इतिहास दयाराम सरको अर्को उल्लेख्य पक्ष । 

कुनै समय अध्यापनका व्रmममा सेनाको ब्यारेकमै बस्ने गर्नुहुन्थ्यो उहाँ । त्यही बेला देखेको रे उहाँले सेनाले साँझ झन्डा झिकेर राख्ने, बिहान सूर्योदयसँगै फेरि फहराउने गरेको । त्यतिबेलैको जिज्ञासा थियो उहाँको । झन्डालाई उज्यालोमा मात्र फहराउन दिनुपर्छ भनेर अनि जाग्यो झन्डाको खोज अनुसन्धानको भोक । भोक र खोजले नै एउटा अलग पहिचान बनाएको समालोचक, अनुसन्धानकर्ताको रूपमा प्रसिद्ध बन्नु भएको छ उहाँ । नभए त लेखनमा कति आयाराम गयाराम त भेटिन्छन् तर दयाराम भने सम्मानको नाम बन्नु भएको छ, पढिने नाम बन्नु भएको छ । नेपाली साहित्यको क्षेत्रमा जीवन समर्पण गर्ने  नथाक्ने साधक बन्नुभएको छ । 

Author

जयदेव भट्टराई