• २३ माघ २०८२, शुक्रबार

हामी नै नयाँ हौँ: संयोजक प्रचण्ड

blog

नेपाल कम्युनिस्ट पार्टी सल्यान–काठमाडौँ सम्पर्क समितिद्वारा आयोजित निर्वाचन परामर्श कार्यक्रममा सहभागी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत।

प्रतीक इच्छुक शर्मा

सल्यान, माघ २३ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालसम्म २५ वटा राजनीतिक घटकलाई एकताबद्ध गराइसकेको दाबी गर्दै  नेकपा देशको पहिलो पार्टी बन्ने दिशामा तीव्र गतिमा अघि बढिरहेको बताउनुभएको छ।

नेपाल कम्युनिस्ट पार्टी सल्यान–काठमाडौँ सम्पर्क समितिद्वारा आयोजित निर्वाचन परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशका अधिकांश क्षेत्रमा पार्टीको पक्षमा चुनावी वातावरण अनुकूल बन्दै गएको उल्लेख गर्नुभयो। साथै आफूलाई नयाँ शक्ति भन्ने दलहरूसँग स्पष्ट विचार, सिद्धान्त र दीर्घकालीन एजेन्डा नभएको उहाँले टिप्पणी गर्नुभयो।

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, “नयाँ र पुरानोको फैसला उमेरले होइन, विचार र एजेन्डाले गर्छ। देशमा सबैभन्दा नयाँ विचार गणतन्त्र हो र गणतन्त्रको नेतृत्व गर्ने शक्ति नै नेकपा हो।”

सङ्घीय लोकतान्त्रिक गणतन्त्रभन्दा नयाँ कुनै एजेन्डा रास्वपासँग नरहेको दाबी गर्दै उहाँले नयाँको धाक लगाउने वास्तवमा उदार पुँजीवाद र दलाल पुँजीवादको पक्षधर रहेको आरोप लगाउनुभयो।

“हामी नै सबैभन्दा नयाँ शक्ति हौँ। गणतन्त्र र सङ्घीयताभन्दा नयाँ केही छैन। अब देशको नेतृत्व नेकपाले गर्ने आत्मविश्वासका साथ अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो।

कार्यक्रममा नेकपा नेता प्रकाश ज्वालाले सल्यानको विकासका लागि पार्टीका उम्मेदवार रमेश मल्ललाई विजयी बनाउन जिल्लाबाहिर रहनुभएका सल्यानी शुभेच्छुकलाई सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो। उहाँले युवा, क्षमतावान् र अनुभवी नेतृत्वलाई अघि सारिएकाले सल्यानको समृद्धिको जिम्मेवारी रमेश मल्लको काँधमा रहेको बताउनुभयो। सुशासन, सामाजिक न्याय र दिगो विकासलाई प्राथमिकतामा राखेर अघि बढ्न चुनाव जित्नु आवश्यक रहेको उहाँको भनाइ थियो।

उम्मेदवार रमेशकुमार मल्लले जनताको साथ पाए सल्यानको समग्र विकास र जिल्लाको प्रतिष्ठा उच्च बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आफ्नो तीन दशक लामो राजनीतिक अनुभव र समाजसेवाको मूल्याङ्कन जनताले मतदानमार्फत गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य उदय बोहरा, केन्द्रीय सदस्य लक्ष्मण केसी लगायतले मन्तव्य राख्नुभएको थियो।