• १५ कात्तिक २०८१, बिहिबार

खानेपानी परीक्षणका लागि नमुना सङ्कलन

blog

नेपालगन्जको धम्बोझी चोकस्थित एक ह्याण्ड पम्पबाट परीक्षणका लागि पानीको नमुना सङ्कलन गर्दै सहायक प्रजिअ लालबहादुर गुरुङसहितको टोली। तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, मङ्सिर २३ गते। बाँकेका विभिन्न स्थानमा रहेका विद्यालय, अस्पताल तथा सार्वजनिक स्थानमा खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानी परीक्षणका लागि नमुना सङ्कलन गरिएको छ। 

उपभोक्ताको स्वास्थ्यलाई मध्येनजर गर्दै वितरण भइरहेका स्थानबाट शुद्ध पिउने पानीको अवस्थाका बारेमा अवगत गराउन विभिन्न सार्वजनिक स्थानमा प्रयोग हुने खानेपानीको परीक्षणका लागि शुक्रबार नमुना सङ्कलन कार्य गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो। 

सामूहिक रूपमा प्रयोग गरिने प्रकृतिका संस्था तथा स्थानबाट उपभोग भइरहेको पानीको शुद्धता मापन गर्नका लागि विभिन्न सार्वजनिक स्थानबाट वितरण भइरहेका पिउने पानीको नमुना सङ्कलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइएको प्रजिअ पोखरेलले बताउनुभयो। 

प्रजिअ पोखरेलका अनुसार तीन हजार विद्यार्थीले दैनिक प्रयोग गर्ने नेपालगन्जको धम्बोझी माध्यमिक विद्यालय, १५ सय विद्यार्थीले दैनिक प्रयोग गर्ने बैजनाथको प्रभात माध्यमिक विद्यालय, १२ सय विद्यार्थीले दैनिक प्रयोग गर्ने बैजनाथकै हिमालय विद्या निकेतन र ५ सय बढी बिरामीले दैनिक प्रयोग गर्ने नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट पिउने पानीको परीक्षणका लागि नमुना सङ्कलन गरिएको हो। 

त्यसैगरी पाँच हजार ३ सय घरधुरीले प्रयोग गर्ने कोहलपुरको कोहलपुर बृहत् सहरी खानेपाी उपभोक्ता समिति, १४ सय घरधुरीले प्रयोग गर्ने नेपाल खानेपानी संस्थान राँझाबाट आलानगर नेपालगन्ज क्षेत्रमा वितरण हुने पानी, १ सय २५ घरधुरीले प्रयोग गर्ने एअरपोर्ट नजिकको कारकाँदो खानेपानी उपभोक्ता समिति र नेपालगन्जको धम्बोझी चोकस्थित एक हयाण्ड पम्पको पानीको शुद्धता परीक्षणका लागि नमुना सङ्कलन गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो।  

सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा अनुगमनमा गएको सरोकारवालाको टोलीले विभिन्न स्थानबाट खानेपानीको परीक्षणका लागि नमुना सङ्कलन गरी प्रयोगशाला पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।