जानु पाण्डे
कपिलवस्तु, मङ्सिर २३ गते। बागलुङ बुर्तिबाङ कि दिव्या थापा सुत्केरी भएको १५ दिन मै छोरी बोकेर काममा निस्कनुभयो। अप्रेसन गरेर प्रसूति गराए पनि उहाँलाई पारिवारिक बाध्यताले लामो समय आराम गर्न दिएन।
मेला महोत्सवमा पिङ, चिप्लेटी, जम्पीङ, चलाएर घरबार चलाउने भएपछि १५ दिने छोरी बोकेर महोत्सवमा जानु भएको थियो। उहाँले न पोषणयुक्त खाना खानु भयो, न उचित स्याहार सुसार। १५ दिने बच्चा बोकेर टिकट काट्दै मेला महोत्सव हेर्न आउनेलाई मनोरञ्जन दिनुभयो।
‘मेला महोत्सवमा हिँड्ने सबै लाई दुःख छ। अझ महिला कामदार स्वास्थ्यलाई जोखिम छ। न महिनावारी भन्नु छ, न सुत्केरी। पोषण युक्त खाना समेत पाइँदैन। वर्षातमा रातभर भिज्दै बस्नुपर्छ। जाडोमा न्यानो लुगा समेत हुँदैन। स्वास्थ्यको विषयमा धेरै पछाडि छौँ’, बुद्धभूमि महोत्सवमा जम्पिङ खेलाउँदै आएकी थापाले भन्नुभयो।
दिव्याका श्रीमान् राम थापा पिङ, डुङ्गाका मिस्त्री (प्राविधिक) हुनुहुन्छ। दुवै जना एक बाट अर्को ठाउँमा हिँड्नु पर्ने भएपछि छोरीको लालन पालन गर्न असहज भएको छ। जसका कारण तीन वर्षीय जेठी छोरीलाई माइतीघर (रौतहट चन्द्रनिगाहापुर) मा छाड्नु पर्ने बाध्यता रहेको छ। अहिले ६ महिनाको छोरी सँगै लिएर हिँडेका छन्। उचित स्याहार सुसार नहुँदा बाल बच्चा धेरै बिरामी हुने गरेका दिव्या बताउनुहुन्छ।
थापा दम्पतीले काम गरी बचत गरेको ७२ हजार लगानी गरी जम्पिङ खरिद गर्नुभएको छ। जम्पिङ सञ्चालन गरेपछि मासिक औसत ६० हजार आम्दानी हुने गरेको दिव्याले बताउनुभयो।