• १२ साउन २०८१, शनिबार

उच्च अदालतमा ‘सेवाग्राही टाईम कार्ड’ लागू

blog

शेरबहादुर राई

ओखलढुङ्गा, मङ्सिर २३ गते । उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुङ्गाले ‘सेवाग्राही टाइम कार्ड’ को व्यवस्था गरेको छ । सेवाग्राहीको सुविधा र सहजताका लागि मङ्सिर पहिलो साता देखी अदालतले यो व्यवस्था लागू गरेको हो । 

सेवाग्राही कार्यालयमा आउने बित्तिकै ‘टाइम कार्ड’ मा कति समय भित्र सेवा पाइसक्ने भन्नेबारे लखेर दिइने र उक्त समय भित्र सेवाग्राहीलाई सेवा प्रदान गरिने उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुङ्गाका रजिष्ट्रार विष्णुप्रसाद पाण्डेले बताउनुभयो । 

सेवाग्राहीले ‘टाइम कार्ड’ अनुसार तोकिएको समयमा सेवा नपाए सिधै रजिष्ट्रार समक्ष गुनासो गर्न सकिने र तत्काल गुनासो सम्बोधन गरिने रजिष्ट्रार पाण्डेको भनाई छ । उच्च अदालत मध्य ओखलढुङ्गामा पहिलो पटक यो कार्यक्रमको थालनी गरिएको रजिष्ट्रार पाण्डेले जानकारी दिनुभयो । 

अदालतबाट सेवा पाउन ढिलासुस्ती र झण्झट हुन्छ भन्ने सेवाग्राहीको धारणामा परिवर्तन ल्याउँदै उनीहरूको सहजता र सुविधाका लागि यो सेवा सुरु गरिएको बताइएको छ । अदालतको तथ्याङ्क अनुसार १७९ मुद्दा चालु अवस्थामा रहेका छन् । 

आर्थिक वर्ष २०७९/०८० बाट जिम्मेवारी सरि आएका १२० थान र नयाँ दर्ता १५६ गरी २७६ मुद्दा रहेकोमा हालसम्म १३० मुद्दा भने फर्छ्यौट भएका छन् । अदालतको तथ्याङ्क अनुसार यौनजन्य घटनाका मुद्राको सङ्ख्या उच्च मात्रामा दर्ता हुन आएका छन् ।