• १३ असोज २०८१, आइतबार

जुगल फेदीको गुम्बा, क्याङसिङ, अम्बा खर्कमा बल्यो बिजुली

blog

गाउँमा पहिलो पटक ट्रान्सफर्मर जडान गरी बिजुली बाल्दै गुम्बा, क्याङसिङ् र अम्बा खर्कका स्थानीय बासी । तस्बिर : गोरखापत्र

चित्र मिजार 

सिन्धुपाल्चोक, मङ्सिर २३ गते । सिन्धुपाल्चोककै कर्णाली भनेर चिनिने जुगल गाउँपालिका–३ को अति दुर्गम गाउँ गुम्बा, क्याङसिङ, अम्बा खर्कमा पहिलो पटक बिजुली बत्ती बलेको छ । उक्त गाउँमा पहिलो पटक बिजुली बत्ती बलेपछि स्थानीयमा हर्षको सीमा नै छैन । 

गुम्बाका दुई सय घर, क्याङसिङका ४५ घर र अम्बा खर्कको १० घरमा बिजुली बत्ती बलेको नेपाल बिद्युत् प्राधिकरण सिन्धुपाल्चोक वितरण केन्द्र लामो साँघुका प्रमुख दीपक सापकोटाले जानकारी दिनु भएको छ । आफ्नै पालामा गाउँमा बिजुली बाल्न पाएपछि ८१ वर्षीय गृमे तामाङले अब अँध्यारो हटेर उज्यालो छाएको खुसी पोख्नुभयो । बिजुली बाल्न पाएपछि तामाङ जस्ता सयौँ स्थानीय खुसी भएका छन् । 

गुम्बा, क्यासिङ, अम्बा खर्कमा मा विद्युतीकरणका लागि बिद्युत् प्राधिकरणले चार वर्ष अघि ६३ लाख ७५ हजार बजेट उपलब्ध गराएको थियो । चार वर्ष अघिबाटै उक्त गाउँमा बिजुली बाल्न पोल गाड्ने, तार तान्ने काम भइरहेको थियो । बिजुली नहुँदा विगतका बर्सहरूमा सो गाउँका स्थानीयहरू सोलार बत्ती, टुकी बत्तीमा निर्भर थिए । 

अहिले बिजुली बलेका गाउँ भन्दा अझै टाढा रहेको तेम्बाथाङ, दिपु, तेगा गाउँमा बिजुली पुर्‍याउन आर्थिक वर्ष २०७९÷८० मा बिद्युत् प्राधिकरणबाट तीन करोड ५३ लाख विनियोजन भई टेन्डर लागेको सिन्धुपाल्चोक वितरण केन्द्र लामो साँघुले जनाएको छ । आउँदो वर्षायाम अगाडि नै काम सकेर तेम्बाथाङ, दिपु, तेगामा बिजुली बालिने पनि सो केन्द्रले बताएको छ । अहिले उक्त गाउँमा ब्रम्हायणी तथा अपर ब्रम्हायणी जलविद्युत आयोजनाले सडक ट्र्याक खोलेको छ । अम्बा खर्क गाउँको सडक ट्र्याक किनारामा प्राधिकरणले पोल गाड्ने, तार तान्ने काम गरिरहेको प्रमुख सापकोटाले बताउनुभयो । तेम्बाथान, दिपु, तेगा गाउँ सिन्धुपाल्चोककै सबैभन्दा दुर्गम गाउँ हुन् । उक्त गाउँ शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायतका विकासे मूलप्रवाहिकरणबाट वञ्चित छ । 

अब सिन्धुपाल्चोकमा बिजुली बाल्नबाट वञ्चित केही गाउँ मात्रै छन् । ती गाउँमा केही महिनामै बिजुली पुर्‍याउने काम तीव्र गतिमा भइरहेको प्रमुख सापकोटाले जानकारी दिनुभयो । साथै बिद्युत् चुहावटलाई पूर्ण नियन्त्रण गर्ने, नाङ्गा तारमा कभर हाल्ने कार्य तीव्र रूपमा भइरहेको उहाँले बताउनुभयो । बाँकी बक्यौता तीन करोड हाराहारीमा रहेकोमा त्यस्ता ग्राहकलाई ताकेता गरिरहेको र बक्यौता उठाई रहेको र अटेरी ग्राहकको लाइन काटेको प्रमुख सापकोटाको भनाई छ ।