• २२ असार २०८१, शनिबार

भुक्तानी रोकिँदा दुध बिक्री हुन छाड्यो

blog

सर्लाही समाचारदाता

सर्लाही, मङ्सिर २३ गते । दुग्ध विकास संस्थान (डिडिसी) ले तीन महिनाभन्दा बढी सयमदेखि दुधको भुक्तानी नदिँदा सर्लाहीका किसान र डेरी सञ्चालक मारमा परेका छन् । डेरी सञ्चालकले किसानबाट उठाउने गरेको दुध सरकारी स्वामित्वमा रहेको डिडिसीको विभिन्न दुध सङ्कलन केन्द्रमा लगेर बिक्री गर्दै आएका छन् । डिडिसीले तीन महिनाभन्दा बढी समयदेखि डेरी सञ्चालकलाई भुक्तानी नदिँदा त्यसको मार किसानलाई पर्न थालेको छ । 

डिडिसीबाट दुधको भुक्तानी नपाउँदा डेरी सञ्चालकले किसानलाई लामो समयदेखि भुक्तानी दिन सकेका छैनन् । पछिल्लो समय डिडिसीले किसानबाट सङ्कलन गरेर ल्याएको दुध लिनै छाडेको डेरी सञ्चालकको गुनासो छ । 

लालबन्दी नगरपालिका–१, नवलपुरमा डेरी पसल सञ्चालन गर्दै आउनुभएका व्यवसायी सुदीप कार्कीले डिडिसीलाई बिक्री गरेको दुधको भुक्तानी नपाउँदा किसानलाई दिन नपाएको बताउनुभयो । ऋण गरेर केही समयसम्म थेगे पनि अब भने व्यवसाय नै बन्द गर्नुपर्ने स्थिति सिर्जना भएको उहाँको दुःखेसो छ । 

कार्कीका अनुसार डिडिसीले पछिल्ला दिनमा दुध लिन नमान्दा किसानबाट सङ्कलन गरेर ल्याएको दुध खेर जाने अवस्था आएको छ । आर्थिक मन्दी रहेको अवस्थामा दुध बिव्रmी नहुँदा दही, पनिरलगायतका परिकार बनाए पनि त्यो समेत बिक्री नभएको उहाँले गुनासो गर्नुभयो । 

पहिले पहिले एक महिनाभित्रै डेरी सञ्चालकलाई दुधको भुक्तानी दिने डिडिसीले अहिले तीन/चार महिनासम्म भुक्तानी रोक्न थालेको छ । दुध बिक्री नभएको र पुरानो बक्यौतासमेत नपाएको भन्दै केही साताअघि सर्लाहीको हरिवन क्षेत्रका डेरी सञ्चालकले सडकमै दुध पोखेका थिए । 

हरिवन नगरपालिका–११, मा डेरी सञ्चालन गर्दै आउनुभएका व्यवसायी सुरेश भट्टराईले गएको भदौदेखि डिडिसीबाट भुक्तानीको रकम नपाएको गुनासो गर्नुभयो । व्यावसायिक रूपमा फर्म खोलेर गाईभैँसी पाल्ने किसानले सोझै डिडिसीको दुध सङ्कलन केन्द्रमार्फत दुध बिक्री गर्ने गरे पनि एक/दुई वटा गाईभैँसी पाल्ने किसानले भने डेरीमा लगेर बेच्ने गरेका छन् । दैनिक डेरीलाई दुध बेचेर घरखर्च टार्ने किसान डिडिसीको लापरबाहीले मारमा परेका छन् । 

ईश्वरपुर नगरपालिका–१२, घारिबथानकी किसान अम्बिका खड्काले पहिले झैँ दुध बिक्री गरेपछि महिनैपिच्छे पैसा पाउन छाडेको बताउनुभयो । पैसा खाँचो भएका बेला डेरी सञ्चालकले तुरुन्त दिने गरेको भए पनि अहिले त महिनौँसम्म पनि पैसा नपाएको उहाँले गुनासो गर्नुभयो ।