सिन्धुपाल्चोक समाचारदाता
सिन्धुपाल्चोक, मङ्सिर २३ गते । सिन्धुपाल्चोकका विकट बस्तीहरू जुगल गाउँपालिका–३ को गुम्बा, क्याङ्सिङ र अम्बाखर्कमा विद्युत् विस्तार गरिएको छ । नेपाल विद्युत् प्राधिकरण सिन्धुपाल्चोक वितरण केन्द्र लामोसाँघुका प्रमुख दीपक सापकोटाका अनुसार गुम्बाका दुई सय घर, क्याङ्सिङका ४५ घर र अम्बाखर्कका १० घरमा बिजुली बत्तीको पहुँच पुगेको छ ।
स्थानीय ८१ वर्षीय गृमे तामाङले बुढेसकालमा अँध्यारो हटेर उज्यालो छाएकोमा खुसी पोख्नुभयो । बिजुली बाल्न पाएपछि तामाङ जस्ता स्थानीय फुरुङ्ग छन् ।
गुम्बा, क्याङ्सिङ र अम्बाखर्कमा विद्युतीकरणका लागि विद्युत् प्राधिकरणले चार वर्षअघि ६३ लाख ७५ हजार रुपियाँ उपलब्ध गराएको थियो । चार वर्षअघिबाटै ती गाउँमा बिजुली बाल्न पोल गाड्ने, तार तान्ने काम भइरहेको थियो । बिजुली नहुँदा विगतमा स्थानीय सोलार बत्ती र टुकी बत्तीमा निर्भर थिए ।
अहिले बिजुली विस्तार गरिएको गाउँभन्दा टाढा रहेको तेम्बाथाङ, दिपु, तेगा गाउँमा बिजुली पु-याउन आर्थिक वर्ष २०७९/८० मा विद्युत् प्राधिकरणबाट तीन करोड ५३ लाख रुपियाँ विनियोजन भई टेन्डर लागेको सिन्धुपाल्चोक वितरण केन्द्र लामोसाँघुले जनाएको छ । आउँदो वर्षायाम अगाडि नै काम सकेर तेम्बाथाङ, दिपु र तेगा गाउँमा बिजुली बाल्ने योजना रहेको केन्द्रले बताएको छ । अहिले उक्त गाउँमा ब्रम्हायणी तथा अपर ब्रम्हायणी जलविद्युत् आयोजनाले सडक ट्र्याक खोलेको छ । अम्बाखर्क गाउँको सडक ट्र्याक किनारामा प्राधिकरणले पोल गाड्ने, तार तान्ने काम गरिरहेको प्रमुख सापकोटाले जानकारी दिनुभयो । तेम्बाथान, दिपु, तेगा गाउँ सिन्धुपाल्चोककै सबैभन्दा दुर्गम गाउँ हुन् । उक्त गाउँ शिक्षा, स्वास्थ्य, खानेपानी, सडकलगायतका न्यूनतम पूर्वाधारको अभाव रहेको छ ।
सिन्धुपाल्चोकमा अझै बिजुली बत्तीको पहुँच नपुगेका केही गाउँ छन् । ती गाउँमा केही महिनामै बिजुली पु-याउने काम तीव्र गतिमा भइरहेको प्रमुख सापकोटाले जानकारी दिनुभयो । विद्युत् चुहावटलाई पूर्ण नियन्त्रण गर्ने, नाङ्गा तारमा कभर हाल्ने कार्य भइरहेको बताइन्छ । विद्युत् महसुल बक्यौता तीन करोड रुपियाँ हाराहारीमा रहेकोमा त्यस्ता ग्राहकलाई ताकिता गर्दै बक्यौता उठाइरहेको र अटेरी गर्ने ग्राहकको लाइन काटेको प्रमुख सापकोटाको भनाइ छ ।