• ६ माघ २०८१, आइतबार

तराईमा बाक्लो हुस्सुसँगै चिसो बढ्यो

blog

शनिबार बिहान सर्लाहीमा लागेको बाक्लो हुस्सु । तस्बिर: जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, मङ्सिर २३ गते । सर्लाहीसहित तराई क्षेत्रमा दुई दिनदेखि बाक्लो मात्रामा हुस्सु लागेर चिसो स्याँठ चल्दा जनजीवन प्रभावित बनेको छ । यस क्षेत्रमा शुक्रबारबाट चिसो एक्कासि बढेको हो । यहाँ शनिबार पनि बिहानैबाट बाक्लो मात्रामा हुस्सु लागेर शीत झरिरहेको छ । 

चिसो बढ्दा विपन्न, गरिब, मजदुर र पिछडिएको दलित परिवार प्रभावित हुन थालेका छन् । चिसो छल्न प्रत्येक बस्तीका बासिन्दा आगो बालेर तापिरहेका छन् । तराई मधेसका डोम, मुसहरलगायत अति पिछडिएको दलित तथा विपन्न परिवारमा चिसो छल्न आवश्यक मात्रामा न्यानो कपडा छैन । बसबरिया गाउँपालिका–३, भवानीपुरकी सीतादेवी माझीले न्यानोको अभावमा भवानीपुरको पूरै मुसहर बस्ती प्रभावित भएको गुनासो गर्नुभयो । 

चिसो छल्न आफूहरू घर–घरमै आगो बालेर तापिरहेको उहाँले जानकारी दिनुभयो । मङ्सिर अन्तिमतिर आएर बाक्लो हुस्सु लागेर चिसो बढ्दा बालबालिका, वृद्ध वृद्धा र शारीरिक रूपमा अशक्त व्यक्ति बढी प्रभावित भएका छन् । 

चिसो बढ्दा घाँटी, टाउको र छाती दुख्ने, रुघाखोकी लाग्नेजस्ता चिसो जन्य सङ्क्रमणका बिरामी बढेका चिकित्सकले बताएका छन् । प्रादेशिक अस्पताल मलङ्गवाका डाक्टर अविनाश सिंहले चिसो स्याँठ चलेको र बाक्लो हुस्सु लागेको समयमा सकेसम्म घरभित्रै बस्न सुझाव दिनुभएको छ । 

उहाँले यो समयमा न्यानो कपडा लगाउन, सुरक्षितसँग आगो तापेर बस्न र ताता तथा पोसिला खानेकुरा खान सुझाव दिनुभएको छ । हुस्सु लाग्न सुरु भएसँगै तराई क्षेत्रका किसान दलहन तथा तेलहन बाली र तरकारी खेती प्रभावित हुने भन्दै चिन्तित बनेका छन् । 

हुस्सु लाग्न थालेपछि गोलभेँडा, आलु, तोरीलगायतका बाली प्रभावित हुने किसानले बताएका छन् । बाक्लो मात्रामा हुस्सु लाग्दा पूर्व–पश्चिम राजमार्ग र अन्य भित्री सडकमा सवारी साधन दिउँसो पनि बत्ती बालेर गुडिरहेका छन् ।