• १४ मंसिर २०८१, शुक्रबार

आगलागीबाट एक घर जल्यो

blog

फुङ्लिङ नगरपालिका–५ का लालबहादुर गुरुङको घरमा लागेको आगो नियन्त्रणमा लिइँदै । तस्बिर: चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर २३ गते । ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा शनिबार बिहानै एक घरमा आगलागी भएको छ । सदरमुकाम बजारनजिक फुङ्लिङ नगरपालिका–५ उकाली पानी टोलमा एक घरमा आगलागी भएको हो ।

आगलागीबाट स्थानीय लालबहादुर गुरुङको ढुङ्गा, माटो र जस्तापाताको प्रयोग गरिएको मतान घर जलेर नष्ट भएको छ । सो आगलागीबाट घरभित्र भएको खाद्यान्न, भाँडा वर्तन, लत्ता कपडा लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको स्थानीयले बताएका छन् । जिल्ला समन्वय समितिका सदस्यसमेत रहनुभएका स्थानीय विष्णु तिवारीका अनुसार गुरुङको दुई वटामध्ये एउटा घर जलेर नष्ट भएको हो ।

बिहान करिब ७ः४५ बजेतिर घरमा अचानक आगलागी भएको र सँगै रहेको अर्को घर भने तत्काल स्थानीय बासी जुटेर बचाउन सफल भएको उहाँको भनाइ छ । घरमा लागेको आगो फुङ्लिङ नगरपालिकाको दमकल (वारुणयन्त्र) सहित स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उपस्थितिमा नियन्त्रण लिएको हो । स्थानीयका अनुसार सो घरमा केही परिवार भाडामा बस्दै आएका थिए ।

यता स्थानीय बासीले भने घर जलिसकेपछि मात्र दमकल पुगेकाले घरमा भएको सामानहरू जोगाउन नसकिएको बताएका छन् । आगलागीको कारण पनि खुली नसकेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । प्रनाउ लिम्बूका अनुसार आगो नियन्त्रणमा आइसकेकाले क्षतिको विवरण सङ्कलनको कार्य सुरु भएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।