• १२ साउन २०८१, शनिबार

भैँसीपालनमा यादव समुदायको आकर्षण

blog

घोराही समाचारदाता 

घोराही, मङ्सिर २३ गते । भैँसीपालन यहाँका स्थानीय यादव समुदायको पुख्र्यौली पेसा हो । भैँसीपालन गर्ने र दुधबाट दही र घिउ बनाएर बिक्री गर्दै घर व्यवहार चलाउँदै आएका छन् । देउखुरीका गढवा र राजपुर गाउँपालिकामा यादव समुदायले भैँसीपालनबाटै जीविकोपार्जन गर्दै आएका छन् ।

दैनिक रूपमा दुध, दही बेच्ने किसानले पछिल्लो समय गाउँकै डेरी वा नजिकै बजारमा बिक्री गरे पनि देउखुरी राजपुर क्षेत्रका यादव समुदाय दैनिक करिब ५० किलोमिटर दुरी यात्रा गर्दै घोराहीसम्म दही, घिउ बिक्रीका लागि आउने गरेका छन् । त्यहीमध्येका एक हुनुहुन्छ देउखरी राजपुर गाउँपालिका–३, खरदरिया निवासी लक्ष्मण यादव । उमेरले ५५ वर्ष पुग्नुभएका यादव दिनहुँ दही बिक्रीका लागि घोराही आउने गरेको बताउनुहुन्छ । घरमा छ वटा भैँसी पाल्नुभएका उहाँ हरेक दिन बिहान ४ बजे दहीको भाँडा टाउकोमा बोकेर ५०  किलोमिटर टाढा घोराही आइपुग्ने र घोराहीका प्रत्येक घर घर गएर दही बिक्री गर्दै आएको बताउनुहुन्छ । 

सोही ठाउँ निवासी हरिप्रसाद यादवको दैनिकी पनि घोराही–राजपुर गरेर बित्ने गर्छ । विगत ३० वर्षदेखि उहाँ दैनिक दही बिक्री गर्न घोराही बजार आउने गरेको बताउनुहुन्छ । घरमा सात वटा भैँसी पाल्नुभएका हरिप्रसादले दही, घिउ बिक्री गरेर घर व्यवहारसँगै छोराछोरीलाई पढाएको बताउनुहुन्छ ।