• २२ असार २०८१, शनिबार

सुत्केरीलाई भाले कोसेली

blog

तम्घास समाचारदाता 

तम्घास, मङ्सिर २३ गते । गुल्मीको कालीगण्डकी गाउँपालिकाले सुत्केरीलाई भाले वितरण गरेको छ । उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले सुत्केरी अवस्थामा झोलिलो र पोसिलो खाने कुरा आवश्यक पर्ने भएकाले सुत्केरीलाई भाले कोसेली दिने गरेको बताउनुभयो । 

गर्भवती र सुत्केरीको साथमा उपाध्यक्ष कार्यक्रममार्फत यस आर्थिक वर्षको हालसम्म पालिकाभित्रका ६८ जना सुत्केरीलाई भाले वितरण गरिएको दर्लामीले बताउनुभयो । सुत्केरी अवस्थामा बढी आराम गर्नुपर्ने, झोलिलो र पोसिलो खानेकुरा खानुपर्ने, स्वास्थ्यको एकदमै ख्याल गर्नुपर्ने भन्दै सम्झाउने गरेको दर्लामीले बताउनुभयो । 

पहिलो प्राथमिकता भाले र भाले उपलब्ध नभएमा घिउ लिएर जाने गरेको उहाँको भनाइ छ । यसका साथै परिवारका सदस्यलाई पनि साथमै राखी स्वास्थ्यकर्मीले स्वास्थ्यका बारेमा सम्झाउने र बुझाउने गरेको स्वास्थ्य शाखा प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

गर्भवती महिलालाई सुत्केरी हुनुपूर्व दुई पटक पोषण प्याकेज वितरण गर्ने र स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने गरेको स्वास्थ्य शाखाले जनाएको छ । पोषण प्याकेजमा एक क्यारेट अन्डा र चना दिने गरिएको छ ।

 यसका साथै सफा र सुग्घर रहनु पर्छ भन्ने सन्देश प्रवाह गर्नका लागि साबुन र नङ काट्ने वितरण गर्ने गरिएको थापाले बताउनुभयो । गर्भावस्थामा पोषणसहित र सुत्केरीपश्चात् भाले लिएर गाउँपालिका आउँदा स्थानीय सरकार आफूहरूको साथमा रहेको अनुभूति भएको वडा नम्बर २ अर्बेनीकी सुत्केरी रेनुका सिँजालीले बताउनुभयो ।घरमा आर्थिक अवस्था राम्रो भएकालाई भन्दा पनि आर्थिक अवस्था कमजोर भएकालाई यस कार्यक्रमले ठुलो राहत मिल्ने जमुना बुढाले बताउनुभयो । 

यसका साथै पोषणमा थप सुधार गर्न र यस कार्यक्रमलाई निरन्तरता दिइराख्न अर्की सुत्केरी रविना न्यौपानेले स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।गर्भवती र सुत्केरीको साथमा उपाध्यक्ष कार्यक्रमका लागि सात लाख रुपियाँ विनियोजन गरिएको प्रशासकीय अधिकृत नरेश गिरीले बताउनुभयो । यस कार्यक्रमले पोषणमा थप सुधार ल्याउने, गर्भावस्थामा नियमित परीक्षण गर्ने र स्वास्थ्य संस्थामा सुत्केरी हुनु पर्छ भन्ने सन्देश प्रवाह गर्नका लागि थप टेवा पुग्ने गिरीले दाबी गर्नुभयो ।