• १२ साउन २०८१, शनिबार

पत्रकारिता पेशालाई मर्यादित बनाउन जरुरी

blog

रमेश विश्वकर्मा

गुल्मी, मङ्सिर २३ गते । गुल्मीमा सहभागी एक कार्यक्रमका सहभागीहरुले पत्रकारिता पेशालाई मर्यादित बनाउन जरुरी देखिएको बताएका छन् । तम्घासमा प्रेस काउन्सिल नेपालद्वारा आयोजित पत्रकारहरुका लागि आचारसंहिता जागरण कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।

प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य शरदप्रसाद अधिकारीले पत्रकारिता पेशालाई जोगाउन र मर्यादित बनाउन गम्भीर रुपमा छलफल गर्नुपर्ने बताउनुभयो । “मिडिया र मिडियाकर्मी सबैले राम्रोसँग काम गर्नुपर्छ । राजनीतिक दलले मिडिया र मिडियाकर्मीलाई मादलको रुपमा लिएका छन् ।” उहाँले भन्नुभयो,“पत्रकारको परिचय भनेको लेख्ने हो । पत्रकार लेख्ने कुरामा धेरै पछाडि छौं । सबै गम्भीर हुन जरुरी छ।” पत्रकारितामा क्षमता अभिवृद्धी गर्नतर्फ लागौं भन्दै नागरिकमूखी पत्रकारिताको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

अर्का बोर्ड सदस्य ठाकुरप्रसाद बेलबासे पत्रकार आचारसंहिता र निर्देशिकाको बारेमा जानकारी गराउनुहुँदै पत्रकार सबैले सत्यतथ्य कुरा बाहिर ल्याउनुपर्ने बताउनुभयो । “प्रेस काउन्सिल सबैको हो । प्रेस काउन्सिलले सूचनाको हक सम्बन्धि सरकारलाई सल्लाह सुझाव दिने गर्छ ।” उहाँले भन्नुभयो, “सबैलाई आचारसंहिता आवश्यकता रहेको छ ।” पत्रकारले गर्न हुने र गर्न नहुने कुराको बारेमा उल्लेख गर्दै उहाँले पत्रकार सबै सचेत भएर काम गर्नुपर्ने बताउनुभयो ।

त्यसअवसरमा गुल्मी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जिल्लामा एकीकृत सूचना नआएको भन्दै सूचना अधिकारीहरुमा यस सम्बन्धी ज्ञानको अभाव हुन सक्ने बताउनुभयो । विकृतीको कुरालाई सबैले ख्याल गर्नुपर्ने भन्दै संस्थागत रुपमा सूचना प्राप्त नहुँदा अलि गाह्रो भएको उल्लेख गर्नुभयो । नागरिक समाज गुल्मीका संयोजक पदमप्रसाद पाण्डेले सहि सूचना नागरिकसम्म पुर्याउन नसकिएको भन्दै पत्रकारितमा सन्तुलित नमिलेको बताउनुभयो । हरेकको गोपनियताको ख्याल गर्नुपर्ने भन्दै विशुद्ध पत्रकार बन्न जरुरी रहेको बताउनुभयो । प्रेस स्वतन्त्र हुन नसकेको भन्दै राजनीतिक प्रभाव परेको उल्लेख गर्नुभयो ।

नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष जनार्दन घिमिरेले आचारसंहिताको बारेमा हरेक फोरममा कुरा हुने भन्दै युट्युबर र पत्रकारलाई एउटै नजरले हेर्ने गरेको बताउनुभयो । पत्रकार को हो भनेर नागरिकलाई छुट्याउन गाह्रो भएको भन्दै पत्रकारिता पेशालाई बचाउनका लागि क्षमता अभिवृद्धि तालिमको जरुरी रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले यस जिल्लाको पत्रकारिताको अवस्थाको बारेमा जानकारी गराउनुभयो । यस जिल्लामा संचालित संचार माध्यमहरुको अवस्थाको बारेमा जानकारी दिनुहुँदै उहाँले यहाँका एफएम रेडियोहरुको अवस्था अत्यन्तै दयनीय भएको उल्लेख गर्नुभयो । बजार अत्यन्तै कम भएको भन्दै सबै संचार गृहले एकीकृत रुपमा विज्ञापन पाउन नसकेको बताउनुभयो । जिल्लामा सुचना पाउन निकै सास्ती खेप्नु परेको उल्लेख गर्दै सूचनाको पहुँच र समस्याको बारेमा जानकारी गराउनुभयो । जिल्लामा महिला पत्रकारहरुको संख्या न्यून रहेको भन्दै ठुला मोफसलका संचार माध्यममा काम गर्ने पत्रकारहरुले नियमित पारिश्रमिक नपाएको बताउनुभयो ।

“स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित पत्रकारिता मैत्री” प्रेस काउन्सिल नेपाल भन्ने मुल नारासहित यहाँका पत्रकारलाई आचारसंहिता जागरण कार्यक्रम गरिएको प्रेस काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले जानकारी दिनुभयो । पत्रकारिता क्षेत्रका समस्या बुझेको र त्यसको बिषयमा आफुहरु गम्भीर रहेको समेत उहाँले जानकारी गराउनुभयो ।