काठमाडौं, मङ्सिर २२ गते। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एनसेलको शेयर खरिद बिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको बताउनुभएको छ। शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले एनसेलको शेयर खरिद बिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको बताउनुभएको हो।
उहाँले विगतमा पनि सरकारले एनसेलले अरबौँ रुपियाँ कर मिनाहा गरेको कुरा आए पनि त्यसप्रति कसैको चासो नभएको भन्दै उहाँले यस प्रकरणमा आवश्यक छानबिन गर्नुपर्ने बताउनुभयो। उहाँले देशमा सुशासनको अवस्था अत्यन्त नाजुक भएको बताउनुभयो। उहाँले आफ्नो जीवनकालमा अहिलेजस्तो सुशासनको अवस्था बिग्रिएको कहिल्यै नदेखेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘‘एकपटक सुनिएको थियो एनसेलको अरबौँको कर मिनाहा गर्यो। त्यतिबेला कुरा उठ्यो तर चासो कसैको अगाडि बढेन। एनसेल प्रकरणमा राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको जस्तो देखिन्छ। देशमा सुशासनको अवस्था अत्यन्त नाजुक छ। मैले आफूले भोगेको अहिलेसम्म हेरेकोमा यत्तिको सुशासन बिग्रिएको अनुभव मैले कहिल्यै गरेको थिइन। जुन अहिलेको अवस्थामा म देख्दैछु। ’’
अध्यक्ष यादवले नेपाली सेनालाई सडक निर्माण गर्न, व्यापार गर्न र ठेक्कापट्टा लगायतका काम गर्न दिने कि नदिने भन्ने विषय नीतिगत रुपमा स्पष्ट हुनुपर्ने बताउनुभयो। उहाँले यस्ता काममा सेनालाई नलगाई पेशागत काम मात्रै गर्न लगाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। त्यस्तै उहाँले प्रहरी र कर्मचारी समायोजन नहुँदा प्रदेश सरकारको अवस्था बेहाल भएको पनि उहाँले बताउनुभयो।