हरिप्रसाद कोइराला
उर्लाबारी, मङ्सिर २२ गते । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लेटाङ-६ बुधबारे सडक उत्तर पूर्वी पहाडका जिल्लासँग कोशी प्रदेशको राजधानी विराटनगरलाई जोड्ने सबैभन्दा छोटो सडक हुने बताउनुभएको छ । शुक्रबार मोरङको लेटाङमा लेटाङ–६ नं. बुधबारे सडकको शिलान्यास गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
कोशी प्रदेश सरकारको लगानीमा निर्माण हुने यो सडक २९.६० किमि लम्बाईको छ । मुख्यमन्त्री कार्कीले ताप्लेजुङ र पाँचथरका बासिन्दाले विराटनगर आउन इलाम र झापा टेक्नु नपर्ने बताउँदै रणनीतिक रुपमा पनि यो सडक कोशी प्रदेशका लागि महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । राँके रवि र भेडेटार नभई सिधै फिदिमबाट धनकुटाको चौविसे हुँदै मोरङको लेटाङ कानेपोखरी सडकसँग जोडिने यो सडक निर्माण भएपछि किसानको बारीबाटै किसानका उत्पादन बजारसम्म पु¥याउन सकिने मुख्यमन्त्री कार्कीको भनाइ छ ।
कार्कीले महत्वपूर्ण र अति आवश्यक योजना मात्र माग गर्न आग्रह गर्दै धेरै मागेर योजना अपुरो छोड्नु भन्दा थोरै माग गरेर पूर्ण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, "धेरै भारि बोके बिचैमा छोड्नु पर्ने हुन्छ । त्यसैले विकासका आयोजना थोरै आवश्यकता र महत्व हेरेर माग गर्नुपर्ने हुन्छ ।" विगतमा आयोजना शिलान्यास भएर सम्पन्न नभएका धेरै घटनाहरू रहेको सङ्केत गर्दै सोही कारण तीनै तहका सरकार प्रति नागरिकको नैराश्यता बढेको उहाँको भनाइ छ ।
मुख्यमन्त्री कार्कीले नागरिक आफ्नो कुलदेवताको मूर्तिदेखि सामूदायिक भवन पनि सरकारले बनाइ दियोस भन्ने आकांक्षामा छन् । सबै कुरा सरकारले गर्छ, हामीले केही गर्नु पर्दैन भन्ने सोचमा नरहन उहाँले आग्रह गर्नुभयो ।
८७ करोड ३ लाख ५३ हजार २७ रुपियाँमा निर्माण सम्पन्न हुने यो सडक २०८३ को बैशाख २८ गते निर्माण कम्पनी सन्तोषी-जोया एण्ड ब्रदर्स जेभीले पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गर्नु पर्नेछ । कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रमेशकुमार सिंहको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा काशी प्रदेशका सांसद खड्गबहादुर बस्नेत, कोशी प्रदेशका पूर्वमन्त्री उपेन्द्रप्रसाद घिमिरे, लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावती, पूर्व नगरप्रमुख शङ्कर राई, लेटाङ नगरपालिकाका उप प्रमुख कृष्णकुमारी निरौला र चौविसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले बोल्नुभएको छ ।
२०३६ सालमा तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाले धनकुटाको ६ नं.बुधबारेमा ट्रयाक खोल्नका लागि सडक शिलान्यास गर्नुभएको थियो । त्यसयता उक्त सडक कालोपत्रे गर्नका लागि धेरै पटक पहल भएपनि सडक निर्माणको प्रक्रिया अघि बढ्न सकेको थिएन ।