• १२ साउन २०८१, शनिबार

आगलागीमा ज्यान गुमाएका परिवारलाई महानगरपालिकाले राहत दिने

blog

सचिन पोख्रेल

विराटनगर, मङ्सिर २२ गते । विराटनगर महानगरपालिका ७ सातघुम्तीस्थित कवाडी पसलमा आगलागी हुँदा ज्यान गुमाएका पीडित परिवार र घाइतेलाई विराटनगर महानगरपालिकाले राहत उपलब्ध गराउने भएको छ । महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट खर्च हुनेगरी ज्यान गुमाएका परिवारलाई जनही एक–एक लाख रुपियाँ राहत उपलब्ध गराउने महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिनुभयो । 

त्यसैगरी, महानगरले घाइतेको उपचारका लागि जनही ५०–५० हजार रुपियाँ प्रदान गर्ने भएको छ । सातघुम्तीस्थित दुखा मण्डलले सञ्चालन गरेको कवाडी पसलमा बुधबार दिउँसो आगलागी हुँदा विराटनगर–६ का ४० वर्षीय दीपक मण्डल, ५५ वर्षीया सुशीला पासवान र ६४ वर्षीय सुनिता कामतको मृत्यु भएको थियो । 

सुशीलाको घटनास्थलमै मृत्यु भएको थियो भने मण्डलको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । घटनामा घाइते भएका विराटनगर–६ का ५८ वर्षीय किशोर पासवान, ६० वर्षीय रीता सरदार, सुनिता कामत र कटहरी–६ की ३० वर्षीय पिंकी कामतलाई थप उपचारका लागि नेपाली सेनाको जहाजबाट बुधबार साँझ काठमाडौं लगिएकोमा सुनिता कामतको उपचारका क्रममा मृत्यु भएको छ । 

काठमाडौंबाट सुनिताको शव ल्याउने व्यवस्थापन महानगरले मिलाएको छ । काठमाडौं लानका लागि आवश्यक अक्सिजनको व्यवस्थापन पनि महानगरले मिलाएको प्रमुख कोइरालाको भनाइ छ ।