• १२ साउन २०८१, शनिबार

हजार जनाको आँखा परीक्षण गर्दा १४९ जनामा मोतिबिन्दु

blog

निःशुल्क आँखा शिविरमा आँखा जाँच गराउन आउनुभएका स्थानीय नागरिक। तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, मंसिर २२ गते। बाँकेको राप्तीसोनारी गाउँपालिकामा आँखाका बिरामीका लागि सञ्चालन गरिएको निःशुल्क मोतिबिन्दु छनौट तथा आँखा शिविरमा एक हजार चार जनाको आँखा जाँच गरिएको छ।  जसमध्ये १ सय ४९ जनामा मोतिबिन्दु रोग देखिएको छ।

राप्तीसोनारी गाउँपालिकाको आयोजना र तिलगङ्गा आँखा प्रतिष्ठान, तिलगङ्गा सर्जिकल आँखा केन्द्र राप्ती ५, सिसहनिया दाङको प्राविधिक सहयोगमा बुधबार र बिहीबार सञ्चालन गरिएको निःशुल्क मोतिबिन्दु छनौट तथा आँखा शिविरमा १ हजार चार जनाको आँखा जाँच गरिएको र ती मध्ये १ सय ४९ जनामा मोतिबिन्दु रोग देखिएको स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिनुभयो। 

बिहिबार वडा नं. २ को कचनापुर स्वास्थ्य चौकी र वडा नं.५ को बिनौना स्वास्थ्य चौकीमा सञ्चालन गरिएको निःशुल्क मोतिबिन्दु छनौट तथा आँखा शिविरमा चार सय ७९ जनाको आँखा जाँच गरिएको र जसमध्ये ७९ जनामा मोतिबिन्दु देखिएको केसीले बताउनुभयो। 

वडा नं. २ को कचनापुर स्वास्थ्य चौकीमा सञ्चालन गरिएको निःशुल्क मोतिबिन्दु छनौट तथा आँखा शिविरमा दुई सय ४७ जनाको आँखा जाँच गरिएको र जसमध्ये ३८ जनामा मोतिबिन्दु देखिएको स्वास्थ्य शाखाका कर्मचारी सुरेशकुमार शर्माले जानकारी दिनुभयो।  उहाँका अनुसार वडा नं. ५ को बिनौना स्वास्थ्य चौकीमा २ सय ३२ जनाको आँखा जाँच गरिएकोमा ४१ जनामा मोतिबिन्दु देखिएको हो। 

शिविरमा ७३ जनालाई ल्याब सेवा र २९ जनालाई नजिक पढ्न सक्ने पावरको चस्मासमेत प्रदान गरिएको शर्माले बताउनुभयो।  बुधबार वडा नम्बर ८ को पेरानी आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा वडा नं. ९ को महादेवपुरी स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा पाँच सय २५ जनाको आँखा जाँच गरिएको थियो।  जसमध्ये ७० जनामा मोतिबिन्दु रोग पत्ता लागेको थियो।  

शिविरमा रोग पत्ता लागि छनौट भएका मोतिबिन्दुका विरामीलाई तिलगङ्गा सर्जिकल आँखा केन्द्र राप्ती ५, सिसहनिया दाङ लगेर निःशुल्क रुपमै शल्यक्रिया गरी उपचार गरिने गाउँपालिकाले जनाएको छ।