• १२ साउन २०८१, शनिबार

सुनसरीमा तोरीखेती गर्ने कृषक बढे

blog

सुनसरीको डुम्राहाका किसानले लगाएको ताेरीखेती । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की
वराहक्षेत्र, मङ्सिर २२ गते ।
तोरीको तेलको मूल्यमा पछिल्लो समय वृद्धि हुँदै गएपछि तोरीखेतीतर्फ कृषकहरुको आकर्षण बढ्न थालेको छ । तोरी उत्पादनका लागि राम्रो हावापानी मानिएको सुनसरीमा तोरीखेती गर्ने कृषकहरुको सङ्ख्या बढ्दै गएको छ । पछिल्ला दुई वर्षदेखि जिल्लामा तोरीखेती लगाउने कृषक बढ्दै गएका हुन् ।

गत वर्ष जिल्लामा नौ हजार १७९ हेक्टर क्षेत्रफलमा तोरीखेती भएकोमा यस वर्ष नौ हजार २७० हेक्टर क्षेत्रफलमा तोरीखेती किसानले लगाएकोे कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठले बताउनुभयो । सूचना अधिकृत श्रेष्ठका अनुसार गत वर्षभन्दा यस वर्ष तोरीखेती गर्ने किसान बढेका छन् । 

गत वर्ष १५ हजार तीन सय एक मेट्रिक टन तोरी उत्पादन भएको र उत्पादकत्व १.६७ प्रतिशत रहेको सूचना अधिकृत प्रवीणलाल श्रेष्ठले बताउनुभयो । सुनसरीका किसानले विकास, प्रगति, टी नौ, मोरङ दुई जातका तोरीे लगाउँदै आएका छन् ।

कृषकहरु अन्य हिउँदे बाली छाडेर तोरीखेती लगाउन थालेको वराहक्षेत्र १० प्रकाशपुरका कृषक सोतिष चन्द्रवंशीले बताउनुभयो । हिउँदे बालीको रुपमा लगाइने तोरीखेतीलाई धेरै मेहनत नपर्ने हुँदा कृषकहरुको आकर्षण तोरी खेतीतर्फ बढ्दै गएको रामधुनी–८ का कृषक पुष्प विष्ट बताउनुहुन्छ ।

यता वराहक्षेत्र नगरपलिका क्षेत्रमा एक हजार सात सय हेक्टर क्षेत्रफलमा तोरीखेती भएको नगर कृषि विकास शाखाका कृषि प्राविधिक निरबहादुर राईले जानकारी दिनुभयो । एक दशकअघि सम्म सुनसरीमा तोरीखेती सामान्य रुपमा हुँदै आए पनि पछिल्ला वर्षहरुदेखि व्यावसायिकरुपमै तोरीखेती हुन थालेको हो । अधिकतर कृषकहरु तेलहन बालीतिर आकषर्ण हुँदा तोरीखेती गर्ने कृषक बढ्दै गएको वराहक्षेत्र नगर कृषि विकास शाखाका कृषि प्राविधिक निरबहादुर राईले जानकारी दिनु भयो ।

तोरी समशीतोष्ण जलवायु बाली भएकाले यसले धेरै चिसो र कुहिरो सहन सक्दैन । बढी चिसो र कुहिरो हुँदा उत्पादन कम हुन्छ । तोरीमा ४० देखि ४५ प्रतिशत तेल हुने गर्दछ भने पनि पशु आहाराको रुपमा र प्राङ्गारिक मलको रुपमा प्रयोग हुँदै आएको छ । तोरी कात्तिक, मङ्सिरमा छरेर माघ, फागुनमा बाली भित्र्याउने गरिन्छ ।