• १२ साउन २०८१, शनिबार

यू–१९ एसिया कप : पाकिस्तानलाई नेपालले दियो १५३ रनको चुनौती

blog

तस्बिरः नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, मङ्सिर २२ गते। एसिसी यू–१९ एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १५३ रनको चुनौती दिएको छ। 

संयुक्त अरब इमिरेट्स (युएई) स्थित आइसिसी एकेडेमी ओभल २ मैदानमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले ४७.२ ओभरमा पूरै विकेट गुमाउँदै १५२ रन बनाएको हो। 

नेपालका लागि उत्तम मगरले ७६ बलको सामना गर्दै तीन चौका र २ छक्काको मद्दतमा ५१ रन बनाउनुभयो। दिपेश कँडेलले ५९ बलको सामना गर्दै ३१ रन बनाउनुभयो भने अर्जुन कुमाल २१ रनमै आउट हुनुभयो। सिनियर टिममा समेत उत्कृष्ट प्रदर्शन गर्दै आउनुभएका गुल्सन झा चार बल खेल्दै १ रनमै आउट हुनुभयो। पाकिस्तानका बलरसामु नेपाली ब्याटिङ नचल्दा मध्यम स्कोर बनाएको  हो। 

पाकिस्तानका मोहम्मह रिजवान एक्लैले ६ विकट लिनुभयो। 



नेपाल र पाकिस्तान दुवै आजको खेलमा सुखद सुरुवात गर्ने लक्ष्यमा छन्। पाकिस्तान नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो। यसअघि एसिसी यू–१९ एसिया कपमा नेपालले दुईपटक पाकिस्तानसँग खेल्दा दुबै खेलमा हार खेपेको थियो ।

एसिया कपमा नेपाल समूह ‘ए’ मा छ। यस समूहमा निकै बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तान छन्। समूह ‘बी’ मा आयोजक युएई, जापान, बङ्गलादेश र श्रीलङ्का छन्। नेपाललाई समूह चरण पार गर्न सुरुमै पाकिस्तान र भारत जस्ता बलिया टोलीलाई पन्छाउनुपर्ने बाध्यता छ। 

एसिया कपलाई एक महिनापछि दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी यू–१९ विश्वकप तयारीको रूपमा समेत लिइएको छ ।