• १२ साउन २०८१, शनिबार

रोकिएको हात्ती महोत्सव यसपालि हुँदै

blog

हात्ती महोत्सव । फाइल तस्विर

शान्ता अधिकारी

चितवन, मङ्सिर २२ गते । विगत चार वर्षदेखि रोकिएको रोमाञ्चकारी हात्ती महोत्सव यस वर्ष पुनः नयाँ ढङ्गले हुने भएको छ । हात्तीदौडको नामबाट सुरु भई चितवनको प्रमुख पर्यटकीय नगरीको रुपमा परिचित सौराहाको ब्राण्ड नै बनेको हात्ती महोत्सवलाई परिष्कृत गरी चितवन हात्ती तथा पर्यटन महोत्सवको रुपमा तयारी थालिएको हो । 

क्षेत्रीय होटल सङ्घ नेपाल सौराहा च्याप्टरले सञ्चालन गर्दै आएको उक्त महोत्सव पछिल्लो समय पशु अधिकारकर्मीहरुले व्यापक विरोध गर्दै आएपछि हात्तीदौडलाई परिमार्जन गरी हात्तीका छावा फुटबल, हात्ती सुन्दरी प्रतियोगिता जस्ता विषय जोडेर महोत्सवको रुपमा सञ्चालन हुँदै आएको थियो ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीका अनुसार जीर्ण सडक खण्ड र कोराना कहरका कारण विगत चार वर्षदेखि उक्त महोत्सव सञ्चालन बन्द गरिएको थियो । उहाँले अघिल्ला संस्करण जस्तै यस पटक नयाँ शैलीका साथ पुस १० गतेदेखि १४ गतेसम्म महोत्सवको १७ औँ संस्करण सञ्चालनको तयारी भएको हो । सुरुवातमा हात्तीदौड, त्यसपछि हात्ती महोत्सव हुँदै यस पटकदेखि उक्त कार्यक्रमको नाम ‘चितवन हात्ती तथा पर्यटन महोत्सव २०८०’ भनेर राखिएको छ ।

महोत्सवमा सम्पन्न गर्न सङ्घका उपाध्यक्ष एवम् होटल ल्याण्डमार्क ग्रुपका अध्यक्ष ओमप्रकाश पाण्डेको संयोजकत्वमा मूल समिति बनाइएको छ । अङ्ग्रेजी नयाँवर्षको बेला सौराहा क्षेत्रमा पर्यटककाे आकर्षणका लागि हात्तीलाई प्रयोग गरी उक्त इभेन्ट आयोजना गरिंदै आएको थियो ।

यस पटक पशु अधिकारकर्मीहरुले भने महोत्सवको नाममा जनावरलाई दुःख नदिन दिएको सुझावलाई मनन गर्दै विगतमा हुँदै आएको छावाको फुटबल, हात्तीपोलो, हात्तीदौडलाई महोत्सवबाट हटाइएको सङ्घ महासचिव गुणराज थपलियाले जानकारी दिनुभयो । यो पटक महोत्सवलाई हात्तीमैत्री सौराहा पर्यटन बनाउन हात्तीको वनभोज, हात्ती सुन्दरी प्रतियोगिता गर्ने कार्यक्रम छ ।

सौराहामा पर्यटकहरुलाई रमाउँदै आएका हात्तीलाई एक दिन बिदा दिँदै हात्तीलाई मनपर्ने परिकारहरुसहित हुने हात्ती वनभोज विशेष हुने युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले बताउनुभयो ।

वनभोजमा सरकारी र नीजि हात्तीलाई एकसाथ सहभागी गराइँदैछ भने हात्ती सुन्दरी प्रतियोगिता पर्यटकहरुका लागि विशेष हुनेछ । जहाँ वनभोजमा विगतमा बाघमारा मध्यवर्ती सामुदायिक वनको खाली चौरमा हुँदै आएको महोत्सव सौराहा क्षेत्रमा पर्ने चित्रसारी पुल तल गरिने तयारी भएको छ । महोत्सवमा वेटर रेस, डुङ्गा दौडसहित पर्यटनलक्षित गोष्ठी तथा सेमिनारसँगै स्थानीय परिकारसहितका स्टलहरु रहने क्षेत्रीय होटल सङ्घ सौराहा कोषाध्यक्ष माधव दुवाडीले बताउनुभयो । उहाँले पर्यटक लक्षित विशेष प्याकेजहरु समेत महोत्सवको अवसरमा ल्याउने तयारी सङ्घले गरिरहेको छ ।

संघका पूर्व अध्यक्ष सुमन घिमिरेका अनुसार यस पटक महोत्सव वन्यजन्तुको संरक्षणका बारेमा जनचेतनामूलक हुने बताउनुहुन्छ । उहाँका अनुसार जुन विषय दर्शक र पर्यटकहरुका लागिसमेत अनुकरणयोग्य हुनेछ । प्रतियोगिताले वन्यजन्तुलाई सफा र सुन्दर राख्नपर्छ, माया गर्नुपर्छ र स्वस्थ्य राख्न प्रेरणा दिनेछ । 

अङ्ग्रेजी नयाँ वर्षको अवसरमा चितवनमा विदेशी पर्यटकको खडेरी पर्ने अवस्थालाई विचार गर्दै शुरु भएको यस किसिमको इभेन्टले पछिल्ला वर्षहरुमा आन्तरिक पर्यटक प्रवर्धनमा उथलपुथल नै ल्याउन सफल भएको थियो । महोत्सवको अवसरमा सौराहा क्षेत्रका होटलहरुको क्षमताले नधान्ने अवस्थामा पुगिसकेका थिए ।