• २८ वैशाख २०८१, शुक्रबार

इन्टरपोलको ९१औं महासभामा सहभागी भई प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता

blog

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई स्वागत गर्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृत । तस्बिर : नेपाल प्रहरी

काठमाडौं, मङ्सिर २२ गते । नेपाल  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर अष्ट्रियाको भियनामा सम्पन्न इन्टरपोलको ९१औं महासभामा सहभागी भई स्वदेश फर्किनुभएको छ ।

अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) महासचिवालयको आयोजनामा मङ्सिर १२ देखि १५ गतेसम्म सञ्चालित उक्त महासभामा प्रहरी महानिरीक्षक कुँवरसँगै सहभागी भई इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर ज.ब.रा. सहितको टोली बिहीबार स्वदेश फिर्ता भएको हो ।

उक्त टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा हार्दिक स्वागत गर्नुभयो ।


महासभाबाट इन्टरपोलको १९६औं सदस्य राष्ट्रको रुपमा पालाउलाई निर्वाचनको माध्यमबाट मान्यता प्रदान गरिएको छ । महासभाले इन्टरपोलको ९२औं महासभा सन् २०२४ मा संयुक्त अधिराज्य बेलायतको ग्लास्गोमा र ९३औं महासभा सन् २०२५ मा मोरक्कोको माराकेमा आयोजना गर्ने निर्णय गरेको छ ।

इन्टरपोल स्थापनाको १०० वर्षको अवसरमा नेपालको तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीलाई इन्टरपोलबाट विशेष आमन्त्रण भई उक्त महासभामा इन्टरपोलका प्रमुख मेजर जेनेरल डा. अहमद नासेर अल रैसीबाट प्रमाणपत्र र इन्टरपोलका महासचिव जर्गन स्टपबाट विशेष मुद्रासहित सम्मान गरिएको  थियो ।