• १२ साउन २०८१, शनिबार

पासोमा फसेको रेडपान्डाको उद्धार

blog

डोरीको पासोमा फसेको अवस्थामा फेला परी जीवितै उद्धार गरिएको रेडपान्डा ।

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर २२ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा दुर्लभ रेडपान्डा (हाब्रे) को उद्धार गरिएको छ । फक्ताङ्लुङ गाउँपालिका–४ इखाबुको वाखु क्षेत्रमा पासोमा फसेको रेडपान्डाको जीवितै उद्धार गरिएको हो ।

जिल्लास्थित हिमाली संरक्षण मञ्चका अनुसार सुतीको डोरीको पासोमा परेको उक्त रेडपान्डालाई स्थानीयले फेला पारेपछि सकुशल उद्धार गरी वनमा छाडिएको छ । रेडपान्डाको संरक्षणमा क्रियाशील संस्था हिमाली संरक्षण मञ्चका कर्मचारी, डिभिजन वन कार्यालयका प्रतिनिधि, स्थानीय लगायतको उपस्थितिमा घटना विवरण (मुचुल्का) उठाई उद्धार गरिएको रेडपान्डालाई सुरक्षित वनमा छोडिएको हो ।

मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार पशुविज्ञको उपस्थितिमा रेडपाण्डाको स्वास्थ्य परीक्षणसँगै खोप (भ्याक्सिन) बाट औषधि दिएर वनमा छाडिएको हो । सो रेडपान्डा अवैध चोरी सिकारी गर्नेले अन्य वन्यजन्तुका लागि थापेको पासोमा परेको हुनसक्ने अनुमान गरिएको छ ।