• १२ साउन २०८१, शनिबार

यू–१९ एसिया कप : नेपाल पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्दै

blog

काठमाडौँ, मङ्सिर २२ गते । एसिसी यू–१९ एसिया कपको पहिलो खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

संयुक्त अरब इमिरेट्स (युएई) स्थित आइसिसी एकेडेमी ओभल २ मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको छ । पाकिस्तानका कप्तान साद बेगले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि नेपाल ब्याटिङमा उत्रिन लागेको हो ।

नेपाल र पाकिस्तान दुवै आजको खेलमा सुखद सुरुवात गर्ने लक्ष्यमा छन् । पाकिस्तान नेपालका लागि बलियाे प्रतिद्वन्द्वी हो । यसअघि एसिसी यू–१९ एसिया कपमा नेपालले दुईपटक पाकिस्तानसँग खेल्दा दुबै खेलमा हार खेपेको थियो ।

एसिया कपमा नेपाल समूह ‘ए’ मा छ । यस समूहमा निकै बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तान छन् । समूह ‘बी’ मा आयोजक युएई, जापान, बङ्गलादेश र श्रीलङ्का छन् । नेपाललाई समूह चरण पार गर्न सुरुमै पाकिस्तान र भारत जस्ता बलिया टोलीलाई पन्छाउनुपर्ने बाध्यता छ । 

एसिया कपलाई एक महिनापछि दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी यू–१९ विश्वकप तयारीको रूपमा समेत लिइएको छ ।

नेपालले एक महिनाअघि मलेसियामा सम्पन्न एसीसी यू–१९ प्रिमियर कप उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

नेपालको खेल तालिका 

मङ्सिर २२ – नेपाल र पाकिस्तान

मङ्सिर २४ – नेपाल र अफगानिस्तान

मङ्सिर २६ – नेपाल र भारत

मङ्सिर २९ – दुबै सेमिफाइनलका खेल 

पुस १ – फाइनल खेल