• १२ मंसिर २०८१, बुधबार

जेसीज कपमा दोस्रो चरणका खेल

blog

बेनीमा जारी जेसीज कपमा प्रतिस्पर्धा गर्दै खेलाडी।

अमृतप्रसाद पौडेल

म्याग्दी, मङ्सिर २१ गते। म्याग्दीको बेनीमा जारी २१ औँ जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय स्तरीय जेसीज कप फुटबल’ प्रतियोगिताको प्रि-क्वारट फाइनलको खेल सुरु भएका छन्। 

२३ वटा विद्यालयले सहभागिता जनाएको जेसीज कप फुटबलमा बिहीबारबाट दोस्रो चरणका खेल सुरु भएका हुन्। दोस्रो चरणको खेल अन्तरगत हेम माध्यमिक विद्यालय सिवाङले किसानी चन्द्रकुन्ता माविलाई पराजित गर्दै क्वाटर फाइनलमा स्थान बनाएको छ। 

निर्धारित समयको खेल एकएक गोलको बराबरीमा सकिएपछि भएको ट्राइब्रेकरमा हेम माध्यमिक विद्यालयले १५-१४ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा स्थान बनाएको हो। त्यस्तै जामुनाखर्क माविलाई पराजित गर्दै डिफेण्डीङ च्याम्पियन शारदा माविले पनि क्वाटर फाइनलमा स्थान बनाएको छ। 

निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि भएको ट्राइब्रेकरमा ५-४ गोलअन्तरले जामुनाखर्कलाई पराजित गर्दै शारदाले अघिल्लो चरण प्रवेश गरेको हो।

पहिलो चरणको खेलमा डिफेन्डिङ च्याम्पियन शारदा माविले बुद्ध एकेडेमीलाई शून्यका विरुद्ध एक गोलले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो। त्यस्तै प्रकाश मावि बेनीलाई दुईका विरुद्ध तीन गोलले पराजित गर्दै गौबमवस्त मावि देविस्थान दोस्रो चरणमा प्रवेश गरेको हो। खेलमा मङ्गला माविलाई शून्यका विरुद्ध पाँच गोलले पराजित गर्दै न्यू वेस्ट प्वाइन्ट दोस्रो चरणमा प्रवेश गर्दा माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले केबी एकेडेमी दरवाङलाइ ट्राइब्रेकरमा (८-७) गोल अन्तरले माउण्ट एभरेष्ट दोस्रो चरणमा प्रवेश गरेको हो।

किसानी मावि विमलाई शून्यका विरुद्ध पाँच गोलले पराजित गर्दै बेनी सामुदायिक विद्यालय बेनी पनि दोस्रो चरणमा प्रवेश गरेको छ। त्यसैगरी लिटिल गार्डेन एकाडमीलाई पराजित गर्दै सरस्वती माध्यमिक विद्यालय तातोपानी एवम् बालमन्दिर माध्यमिक विद्यालयलाई पराजित गर्दै जनप्रिय माध्यमिक विद्यालय दरवाङले दोस्रो चरणमा स्थान बनाएका छन्। जारी जेसीजकप म्याग्दी जेसीजको आयोजना र राम-विमला फाउण्डेशनको मुख्य प्रायोजनमा सञ्चालन भई रहेको छ।

प्रतियोगितामा विजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद ५२ हजार दुई सय २२ र उप-विजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रको साथमा नगद ३२ हजार दुई सय ३२ रुपियाँ पुरस्कार प्रदान गरिने जेसीज कप फुटबलका मूल संयोजक विनोद घर्तीले जानकारी दिनुभयो।