सचिन पोख्रेल
इटहरी, मङ्सिर २१ गते । भारतसँग सिमाना जोडिएको सुनसरी जिल्लाको सीमास्तम्भहरुको निर्माण, मर्मतसंभार र पुनर्स्थापनाको काम बिहीबारदेखि सुरु गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल बराह बाहिनी पकलीको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल नं ४ गण इनरुवाले भारतीय सीमा सुरक्षा दस्ता एसएसबीको उपस्थितिमा पहिलो पटक नेपाल–भारत दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भ अनुगमन, मर्मतसंभार तथा रंगरोगनको कामलाई अभियानकै रूपमा सुरु गरेको हो ।
यस क्रममा सुनसरीको देवानगंज गाउँपालिका वडा नम्बर ३ मा रहेको १८९ नम्बरको सीमास्तम्भबाट सीमा स्तम्भ मर्मतसंभार कार्य सुरु गरिएको गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक लकेशकुमार तुम्बाहाम्फेले जानकारी दिनुभयो । सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरीको जिम्मेवारी इलाका अन्तर्गत पर्ने सुनसरीको सिमानामा रहेका सीमा स्तम्भ मर्मतसंभार गर्दै अभियानलाई अगाडि बढाइएको छ ।
भारतीय सीमाका सुरक्षाकर्मी समेतको उपस्थितिमा सीमा क्षेत्रमा रहेको सीमास्तम्भहरुको निर्माण, मर्मत सम्भार र पुनः स्थापना सम्बन्धी मापदण्ड २०८० अन्तर्गत काम सुरु भएको हो । सन् २०१८ मा सम्पन्न नेपाल–भारत बाउन्ड्री वर्किङ ग्रुपको पाँचौँ बैठकमा सन् २०१४ पछि मर्मत तथा निर्माण भएका सीमास्तम्भहरूमध्ये जोर नम्बरको सीमास्तम्भहरू भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले सशस्त्र प्रहरी बल नेपालको उपस्थितिमा र बिजोर नम्बरको सीमा स्तम्भ नेपालले मर्मत गर्ने निर्णय भए बमोजिम सीमास्तम्भहरुको मर्मतसंभार कार्य गर्नको लागि वि.सं. २०७७ साउन १९ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट सशस्त्र प्रहरी बल नेपाललाई सीमा स्तम्भ मर्मत गर्ने जिम्मेवारी प्राप्त भएको हो ।
सोही निर्णय अनुसार पहिलो पटक अन्तर्राष्ट्रिय सीमास्तम्भहरुको निर्माण, मर्मतसंभार र पुनर्स्थापनाको जिम्मेवारी सशस्त्र प्रहरी बल नेपालले प्राप्त गरी कोशी प्रदेशको नेपाल भारत अन्तर्राष्ट्रिय सीमामा रहेको ४८४ वटा सीमास्तम्भहरुको मर्मतसंभार गर्न लागिएको कोशी प्रदेशका सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनी पोख्रेलले जानकारी दिनुभयो । यसअघि भारतको तर्फबाट भारतीय सीमा सुरक्षा बलले जोर नम्बरको ३४४ वटा सीमा स्तम्भहरुको मर्मतसंभार गरिसकेको सशस्त्र प्रहरी नायब महानिरीक्षक पोख्रेलको भनाइ छ।
सीमास्तम्भ मर्मतसंभार कार्य अन्तर्गत सशस्त्र प्रहरी बलले झापा जिल्लामा रहेको ३१७ वटा, मोरङ्ग जिल्लामा रहेको ३४ वटा र सुनसरी जिल्लाको अन्तर्राष्ट्रिय सीमामा रहेको १३३ वटा सीमा स्तम्भहरुको मर्मतसंभार कार्य गरिनेछ । ४८४ सीमास्तम्भहरू मध्ये १९९ वटा सीमा स्तम्भको रंगरोगन, २२१ वटा सीमा स्तम्भको सामान्य मर्मत, ५९ वटा सीमा स्तम्भको मध्यम स्तरको मर्मत र ५ वटा सीमा स्तम्भको पूर्ण मर्मत गरिने बताइएको छ ।