• २२ वैशाख २०८१, शनिबार

एनसेलको शेयर खरिदबिक्री प्रकरणको अनुसन्धान गर्नैपर्छ : सभामुख

blog

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले एनसेलको विषयमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्नुहुँदै सभामुख देवराज घिमिरे । तस्बिर : गोरखापत्र

काठमाडौं, मङ्सिर २१ गते । सभामुख देवराज घिमिरेले एनसेलको शेयर खरिदबिक्री प्रकरण रहस्यमय बनेको बताउनुभएको छ ।

बिहीबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले एनसेलको विषयमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एनसेलको शेयर खरिदबिक्री प्रकरण अध्ययन अनुसन्धान गर्नैपर्ने रुपमा बाहिर आएको जानकारी दिनुभयो ।

सभामुख घिमिरेले संसद्ले एनसेल खरिदबिक्री प्रकरणलाई जिम्मेवारीका साथ चासो लिएर अघि बढाइरहेको बताउनु भयो । उहाँले संसद् बन्द रहेका बेलामा संसदीय समितिमार्फत यस विषयमा छलफल र बहस भइरहेको जानकारी दिनुभयो ।

‘‘एनसेलको शेयर खरिदबिक्री प्रकरण रहस्यको र अध्ययन अनुसन्धान गर्नैपर्ने रुपमा बाहिर आइरहेको छ । जसरी अरुको चासो गइरहेको छ, संसदमा पनि त्यत्तिकै र अझ त्योभन्दा बढी जिम्मेवारीका साथ चासो लिएर अघि बढेको छ । संसद् अहिले स्थगित छ तर संसदीय समितिहरु क्रियाशील रुपमा अघि बढिरहेका छन् ।,’’ उहाँले भन्नुभयाे, ‘‘यसमा पनि दुई वटा संसदीय समितिले यसलाई छलफलका विषय बनाएर तुरुन्तै बैठक गरेका छन् । सरकारसँग स्पष्टीकरणका लागि माग गर्नेलगायतका कामहरु संसदीय समितिबाट भइरहेका छन् । सिमहरु नष्ट गर्ने भन्ने कुराहरु सुनियो, यस्तो गर्दा देशको सम्पत्ति पनि क्षति हुनपुग्छ । यी कुरामा विचार गरेर यसको छानबिन, निष्कर्षमा जानुपर्छ । भौतिक क्षति नहुने गरी कार्यक्रम अघि बढाउन जरुरी हुन्छ ।’’

सभामुख घिमिरेले अनेरास्ववियुले शेयर खरिदबिक्रीमा अनियमितता भएको भन्दै गरिरहेको विरोधमा पनि भौतिक क्षति नगरी आन्दोलनका कार्यक्रमहरु अघि बढाउनुपर्ने बताउनुभयो । अनेरास्ववियुले एनसेल शेयर बिक्री प्रकरणको सत्यतथ्य छानबिन गर्न आग्रह गरेको छ ।

खर्बौंको सम्पत्ति रहेको, नियमित रुपमा मुनाफा आर्जन गरिरहेको तथा नेपालकै बैंक तथा वित्तीय संस्थाहरुको अरबौंको ऋण लगानी भएको कम्पनीको ८० प्रतिशत शेयरलाई नेपाल दूरसञ्चार प्राधिकरणलाई पूर्व जानकारी नगराई बिक्री गर्दा पुँजीगत लाभकरलगायत कर छली गर्ने उद्देश्य राखेको देखिएको अनेरास्ववियुको ठहर छ ।