• १५ मंसिर २०८१, शनिबार

स्थायी बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिला बढी

blog

घुम्ती शिविरमा बन्ध्याकरण गर्न आउनुभएकी एक महिला । तस्विर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, मङ्सिर २१ गते । बाँकेमा परिवार नियोजनको स्थायी बन्ध्याकरण गर्नेमा अत्यधिक महिलाको सहभागिता रहेको छ । स्वास्थ्य कार्यालय बाँकेको आयोजना र नेपाल परिवार नियोजन सङ्घ नेपालगन्जको प्राविधिक सहयोगमा जिल्लाका विभिन्न स्थानमा केही दिनदेखि सञ्चालन गरिएको परिवार नियोजन सेवाको निःशुल्क स्थायी बन्ध्याकरण घुम्ती शिविरमा पुरुषको भन्दा महिलाको सहभागिता अत्यधिक देखिएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार मङ्सिर १४ गतेदेखि जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको परिवार नियोजनको स्थायी बन्ध्याकरण घुम्ती शिविरमा ४९ जना नागरिकले सेवा लिनुभएको छ । जसमध्ये ४४ जना महिला छन् भने जम्मा ५ जना मात्र पुरुष छन् ।

बुधबार बाँकेको डुडुवा गाउँपालिका २ स्थित बेतहनी स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा ७ जना महिलाले मात्र बन्ध्याकरण गर्नुभएको फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो । सो शिविरमा कुनै पनि पुरुषको सहभागिता रहेन । 

यसअघि राप्तीसोनारी ४ स्थित राप्तीसोनारी अस्पताल बैजापुरमा सञ्चालन गरिएको घुम्ती शिविरमा एक पुरुष र १४ जना महिला गरी १५ जनाले स्थायी बन्ध्याकरणको सेवा लिनुभएको श्रेष्ठले जानकारी दिनुभयो । गङ्गापुर स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा तीन पुरुष र आठ महिला गरि ११ जना र राप्तीसोनारी ६ कमैयाडाँडामा सञ्चालन गरिएको शिविरमा एक पुरुष र १५ महिला गरि १६ गरि पाँच पुरुष र ४४ महिला गरि ४९ जनाले उक्त सेवा लिनुभएको श्रेष्ठले जानकारी दिनुभयो । 

पुरुषले घर बाहिरको काम गर्न जानुपर्ने र बन्ध्याकरण गरे कमजोर भइने मानसिकता र भ्रमका कारण पुरुषहरुले बन्ध्याकरण गर्न महिलालाई पठाउने प्रचलन रहेको श्रेष्ठले बताउनुभयो । त्यसै कारण महिलाको भन्दा पुरुषको सहभागिता अत्यन्तै कम भएको उहाँले बताउनुभयो । पहाडी बस्तीहरुको तुलनामा थारु बस्तीहरुमा पुरुषले महिलालाई बन्ध्याकरण गर्न पठाउने प्रचलन अझै बढी पाइएको श्रेष्ठले बताउनुभयो ।

सूचना अधिकारी श्रेष्ठका अनुसार २२ गते नगर अस्पताल कोहलपुर, २४ गते नौवस्ता स्वास्थ्य चोकी, २६ गते सम्झना चोकस्थित बजार व्यवस्थापन समितिको भवन, २८ गते प्राथमिक स्वास्थ्य केन्द्र खजुरा, ३० गते बेलभार स्वास्थ्य चौकी र पुस २ गते नेपाल परिवार नियोजन सङ्घ बाँकेमा घुम्ती शिविर सञ्चालन हुनेछ ।

सन्तानको रहर पूरा भएका जोसुकै नागरिकले स्थायी बन्ध्याकरण गर्न सक्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।