जयमान बुढामगर
रुकुमपूर्व, मङ्सिर २१ गते । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका र आठबिसकोट नगरपालिकास्थित भूकम्पबाट प्रभावित घरपरिवारलाई राहत सामग्री सहयोग गरिएको छ। नेपाल मगर समाज तथा सूचना केन्द्र (मिक नेपाल) रुकुमको सहकार्यमा इनगेज नेपाल र होमनेट नेपालको सहयोगमा भूकम्प पीडित घरपरिवारलाई राहत सामग्री सहयोग गरिएको हो ।
होमनेट नेपालका कार्यकारी निर्देशक ओम थपलियाका अनुसार सानीभेरी गाउँपालिका र आठबिसकोट नगरपालिकाका भूकम्प पीडित घरपरिवारलाई ६ लाख रुपियाँको विभिन्न राहत सामग्री वितरण गरिएको छ । होमनेटले पहिलो चरणमा भूकम्पबाट अति प्रभावित घरपरिवारलाई कम्बल, ज्याकेट, गर्भवती र सुत्केरीलाई पोषण सामग्री, बालबालिकालाई कापी, कलम, पीफम, ह्वाइटबाेर्ड, मार्करलगायतका सामग्री वितरण गरिएको होमनेट नेपालका कार्यकारी निर्देशक थपलियाले जानकारी दिनुभयो । स्थानीय जनप्रतिनिधिको रोहवरमा उक्त राहत सामग्री विरण गरिएको थपलियाले बताउनुभयो ।
राहत सामग्रीले भूकम्पबाट अति प्रभावित भएका घरपरिवारलाई सहयोग पुगेको छ । राहतका सामग्रीसँगै आगामी दिनमा भूकम्प प्रभावित घरपरिवारका लागि जीविकोपार्जन कार्यक्रमका लागि ध्यान दिने मिक नेपाल रुकुमका सल्लाहकार भीउमान घर्ती मगरले बताउनुभयो । घर्ती मगरले भन्नुभयो, “पहिलो प्राथमिकता राहत वितरणको काम छ । त्यसपछि भूकम्प पीडित घरपरिवारलाई आयआर्जनका निम्ति परियोजना सञ्चालन गर्ने सोच राखेका छौँ ।” अहिले राहत वितरणसँगै स्थलगत अवलोकन गरिएको र त्यस अवलोकन अनुसार आगामी दिनमा आयआर्जनसम्बन्धी परियोजना सञ्चालन गरिने सल्लाहकार घर्ती मगरले बताउनुभयो ।