• १२ साउन २०८१, शनिबार

‘मिट दी मेकर्स’ मा घिमिरेको सहभागिता

blog

काठमाडौँ, मङ्सिर २१ गते ।  दी लोकेसन गाइड लन्डनको आयोजनामा लन्डनमा भएको ‘फोकस २०२३, मिट दी मेकर्स’ नामक संसारभरका चलचित्रकर्मी तथा सञ्चारकर्मीको सम्मेलनमा नेपालका तर्फबाट सम्पादक तथा निर्देशक निशान बाबु घिमिरेले सहभागिता जनाउनुभएको छ । 

डिसेम्बर ५ र ६ तारिखका दिन लन्डनको बिजिनेस डिजाइन सेन्टरमा सम्पन्न भएको दुईदिने सम्मेलनमा कोस्टारिका फिल्म कमिसन, ब्रिटिस फिल्म कमिसन, फिल्म फ्रान्स सी एम सी, हङकङ टुरिजम बोर्ड, इटालियन फिल्म कमिसन, जर्मन फिल्म कमिसन, इन्टरनेसनल कास्टिङ डिरेक्टर असोसियसन, मड्रिड फिल्म अफिस, फिल्म इन फिनल्यान्ड, पोल्यान्ड फिल्म असोसियसन, स्पेन फिल्म कमिसनलगायत फिल्म तथा सञ्चारकर्मी, व्यवस्थापक र विभिन्न देशका सुप्रसिद्ध वक्ताहरूले सहभागिता जनाएका थिए । 

सम्मेलनमा नेपालको तर्फबाट एक मात्र प्रतिनिधिका रूपमा रहेका निशान नेपाली पोसाक दौरा सुरुवाल र भादगाउँले टोपीमा ठाँटिएर बस्दा धेरै सहभागीहरूको नजर उहाँतर्फ पुगेको थियो । उहाँलाई आयोजकहरूले लामो अध्ययन र केही चरणको वार्तामार्फत छनोट गरेका थिए । नेपाल म्युजिक भिडियो निर्देशक समाजका उपाध्यक्षसमेत रहेका निशानले नेपाल र नेपाली संस्कृतिलाई झल्काउन र नेपाली फिल्म क्षेत्रका बारेमा केही जानकारी दिलाउन एउटा स्टल नै राखेका थिए । जहाँ अन्य देशका सहभागीले नेपालका विभिन्न महत्वपूर्ण स्थल र संस्कृति झल्काउने तस्बिरसहित भिडियो क्लिप्सहरू, नेपाली चलचित्र, म्युजिक भिडियो र वृत्तचित्रका भिडियो क्लिप्सहरू अवलोकन गरेका थिए । 

लन्डन जानुपूर्व निशानले कार्यक्रमका बारेमा नेपाल चलचित्र विकास बोर्डलाई जानकारी गराएपछि बोर्डले समेत उहाँको यो कदम र उपलब्धिप्रति समर्थन जनाउँदै स्टलका लागि आवश्यक केही दस्तावेजहरू उपलब्ध गराएको थियो । निशानका अनुसार सम्मेलनमा सहभागी मार्भल, नेटफ्लिक्सका प्रतिनिधिले नेपालको विषयमा चासो राखेका थिए । मैले मेरो स्टलमा दी सोल अफ दी हिमालयनको ब्यानर राखेको थिएँ । चलचित्र विकास बोर्डको ‘फिल्मिङ इन नेपाल’ पुस्तक अन्य देशका सहभागीलाई देखाउँदा उनीहरू नेपालको सुन्दरता देखेर प्रभावित भएका थिए । निशानले भन्नुभयो, “केही देशका चलचित्रकर्मीले वृतचित्र खिच्नका लागि नेपाल आउँछु पनि भन्नुभएको छ ।”