• १२ साउन २०८१, शनिबार

खेलाडीको सम्मानमा आचार्यको गीत

blog

काठमाडौँ, मङ्सिर २१ गते । नेपाली खेलाडीको सम्मानस्वरूप हास्य कलाकार हरिवंश आचार्यले ‘हामी नेपाली, हाम्रो खेलाडी’ बोलको गीत सार्वजनिक गर्नुभएको छ । नेपाल ‘टी–२० विश्वकप’ मा छनोट भएको र नेपालमा खेलप्रतिको इज्जत बढिरहेको अवस्थामा गीत सार्वजनिक गरेको आचार्यले बताउनुभयो । डा. दीपराज थापाको शब्द रचना रहेको गीतको भिडियोमा विभिन्न खेलमा लागेका नयाँ पुराना खेलाडीका यथार्थ श्रव्यदृश्य समेटिएका छन् । “गीतकार थापाले खेलाडीसम्बन्धी खेल गीत लेख्नुभएको रहेछ,” आचार्यले भन्नुभयो, “मलाई गाइदिनुस् भन्नुभयो ।” 

पुराना खेलाडीलाई अहिलेको पुस्ताले बिर्सिसकेको अवस्था उहाँहरूप्रति पनि सम्मान हुने हिसाबले गीत गाएँ । त्यसैले गीतको भिडियोमा पुराना नयाँ खेलाडीले खेलेका वास्तविक दृश्यहरू राखेका छौँ । खेलाडीप्रति सम्मान बोकेको यो गीत नेपालको खेल स्टेडियममा पनि बज्छ भन्ने हाम्रो अपेक्षा छ । विशाल निरौलाको सङ्गीत र एरेन्ज रहेको यो गीतको भिडियो राष्ट्रिय खेलकुद परिषद्मा समेत खिचिएको छ ।