• १२ साउन २०८१, शनिबार

वाम्बुले राई भाषाको कविता प्रतियोगितामा रेनुका प्रथम

blog

धरान, मङ्सिर २० गते ।

किरात वाम्बुले राई भाषाको २४ औं कविता प्रतियोगितामा धरान उपमहानगरपालिका–५ की कवि रेनुका राई प्रथम हुनु भएको छ । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको २६ औं वार्षिकोत्सवको अवसरमा सुनसरीको धरानमा बुधबार सम्पन्न प्रतियोगितामा रेनुकाले बाजी मार्नु भएको हो । 

संस्थाले प्रदेश–१ को नाम ‘कोशी’ नामविरुद्ध जारी आन्दोलनलाई समर्थन गर्दै ‘इक किरात प्रदेस’ (हाम्रो किरात प्रदेश) कविता शीर्षकमा कविता आह्वान गरेको थियो ।

वाम्रास सुनसरी जिल्ला कार्यसमितिको व्यवस्थापन रहेको प्रतियोगितामा ओखलढुंगा मानेभन्ज्याङ–३ का कवि कमल किराँती द्वितीय, मानेभन्ज्याङ–५ का कवि श्याम वाम्बुले राई तृतीय र धरान–५ का कवि जगतधन राई  र विराटनगरकी कवि शुभकुमारी राईले सान्त्वना पुरस्कार प्राप्त गर्नु भएको छ । 


विजयी कविलाई क्रमशः प्रथम १० हजार, द्वितीय ६ हजार, तृतीय ४ हजार तथा दुईजनालाई २–२ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगिता दर्जनभन्दा बढी कविले प्रतियोगी र देश–विदेशबाट अप्रतियोगीसहित ६५ कविका कविता वाचन गरिएको थियो ।

समारोहका प्रमुख अतिथि भाषाशास्त्री प्राध्यापक डा. टंकप्रसाद न्यौपाने, वाम्रास केन्द्रीय अध्यक्ष तथा पत्रकार गजुरधन राई, वाम्रास सुनसरी अध्यक्ष लाखमान राईले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । 

प्राध्यापक न्यौपानले मातृभाषामा कविता गोष्ठीमात्र पर्याप्त नहुने उल्लेख गर्नुभयो । ‘कविता लेखेर मात्रै हुँदैन, कथा, निबन्ध, मुन्धुमका अनेक पक्षबारे विधागत लेखन प्रतियोगिता हुन जरुरी छ,’ भाषाशास्त्री न्यौपानेले भन्नुभयो, ‘‘वाम्बुले भाषा, साहित्य, संस्कृतिको उन्नतिमा औपचारिक पठनपाठनसमेत हुन आवश्यक छ ।’’ साथै उहाँले पछिल्लो समय अन्तरभाषी विवाह, सहरीकरण लगायत विभिन्न कारण भाषा, संस्कृति संकटतर्फ धकेलिएको उल्लेख गर्नुभयो । 

वाम्रास केन्द्रीय अध्यक्ष राईले ऐतिहासिक किरातभूमिको अस्तित्व संरक्षणका निम्ति वाम्बुले साहित्यमा ‘इक किरात प्रदेश’ (हाम्रो किरात प्रदेश) शीर्षकमा कविता प्रतियोगिता आयोजना गरिएको बताउनु भयो । 

अध्यक्ष राईले भन्नुभयो, ‘‘हामीले यस्ता रचनात्मक कार्य गरेर थुप्रै कविहरू जन्मायौ,’ गाउँघरदेखि सहरसम्मै भाषा, सस्कार र सस्कृतिको जगेर्ना गर्दै आएको छ, पुर्खाले आर्जेका कला, संस्कृतिको रुपान्तरणका निम्ति साहित्य गोष्ठी र प्रतियोगिता निरन्तर राखेका छौं ।’’

२०५५ सालदेखि वाम्बुले राई भाषाको कविता प्रतियोगिता ओखलढुंगा, खोटाङ र उदयपुर जिल्लामा भौतिक उपस्थितिमा आयोजना गरिँदैआएको थियो । कोभिड–१९ महामारीले २०७७ र २०७८ सालमा अनलाइन (भर्चुअल) माध्यमबाट कविता प्रतियोगिता भएको थियो भने २०७९ सालमा डेंगु महामारीको कारण प्रतियोगिता रोकिएको थियो ।