• १२ मंसिर २०८१, बुधबार

गुल्मीमा ३४८ जना एचआइभी सङ्क्रमित

blog

रमेश विश्वकर्मा

गुल्मी, मङ्सिर २० गते । गुल्मीमा तीन सय जनाभन्दा बढीमा एचआइभी सङ्क्रमण देखिएको छ । दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको यस जिल्लामा ३४८ जनामा एचआइभी सङ्क्रमित रहेको गुल्मी अस्पताल तम्घासको तथ्याङ्कमा उल्लेख गरिएको छ । कात्तिक मसान्तसम्म यस जिल्लाका सङ्क्रमितहरूमध्ये २०४ जनाले गुल्मी अस्पतालअन्तर्गत रहेको एचआइभी तथा एड्स एन्टीरेट्रोभाइरल थेरापी (एआरटी) सेन्टरबाट एचआइभी प्रतिरोधात्मक औषधि सेवन गर्नुभएको यहाँका फोकल पर्सन पुष्कर घिमिरे जानकारी दिनुभयो ।

यहाँ जिल्लाकै सबैभन्दा बढी सत्यवती गाउँपालिकामा ६२ जना सङ्क्रमित रहेको तथ्याङ्कमा उल्लेख छ । जसमध्ये एआरटी सेन्टरबाट २२ जनाले सेवा लिएका छन् । सबैभन्दा कम पाँच जना काली गण्डकी गाउँपालिकामा सङ्क्रमित छन् । जसमा दुई जनाले एआरटी सेन्टरबाट सेवा लिइरहेका छन् । मुसिकोट नगरपालिकामा ४१ जना सङ्क्रमित छन् । जसमध्ये २७ जनाले एआरटी सेन्टरबाट सेवा लिइरहेको तथ्याङ्कमा उल्लेख छ ।

गुल्मी अस्पतालको तथ्याङ्क अनुसार रेसुङ्गा नगरपालिकामा ३५ जना सङ्क्रमित रहेको तथ्याङ्क छ । यहाँबाट १८ जनाले एआरटी सेन्टरबाट सेवा लिएका छन् । गुल्मीदरबार गाउँपालिकामा २४ जना सङ्क्रमित छन् । जसमध्ये १६ जनाले एआरटी सेन्टरबाट सेवा लिनुभएको उल्लेख छ । छत्रकोट गाउँपालिकामा ४६ जना सङ्क्रमित छन् । जसमध्ये १९ जनाले गुल्मी अस्पतालअन्तर्गत रहेको एआरटी सेन्टरबाट सेवा लिएका छन् । रुरुक्षेत्र गाउँपालिकामा ३८ जना सङ्क्रमित छन् । जसमध्ये २५ जनाले एआरटी सेन्टरबाट सेवा लिइरहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

त्यस्तै, मदाने गाउँपालिकामा १३ जना सङ्क्रमित छन् । जसमध्ये १० जनाले एआरटी सेन्टरबाट सेवा लिएका छन् । चन्द्रकोट गाउँपालिकामा १९ जना सङ्क्रमित छन् । जसमध्ये १४ जनाले एआरटी सेन्टरबाट सेवा लिएका छन् ।

यसैगरी, इस्मा गाउँपालिकामा २० जना सङ्क्रमित छन् भने १६ जनाले एआरटी सेन्टरबाट सेवा लिएका छन् । धुर्कोट गाउँपालिकामा २६ जना सङ्क्रमित छन् । जसमध्ये १३ जनाले एआरटी सेन्टरबाट सेवा लिएका छन् । मालिका गाउँपालिकामा १९ जना सङ्क्रमित छन् । जसमध्ये सात जनाले एआरटी सेन्टरबाट सेवा लिइरहेका छन् । अन्य विभिन्न स्थानका २० जना सङ्क्रमित छन् भने १५ जनाले गुल्मी अस्पतालअन्तर्गत रहेको एआरटी सेन्टरबाट सेवा लिइरहेका छन् ।

यहाँ विशेषगरी आप्रवासी वा रोजगारीका लागि बिदेसिनेहरूबाट, जीवनसाथी, जेलकैदी बन्दी, आमाबाट बच्चा लगायतमा एचआइभी सङ्क्रमण फेला परेको छ । सामुदायिक हेरचाह केन्द्र र घर समुदायमा आधारित कार्यक्रमअन्तर्गत एचआइभीको जोखिम समूहलाई एचआइभी परीक्षण गरिन्छ । नियमित औषधिको सेवनले रोग प्रतिरोधात्मक शक्ति वृद्धि भई अवसरवादी सङ्क्रमणबाट जोगाउनेसँगै मृत्युदर कम गर्न एन्टीरेट्रोभाइरल थेरापीले सहयोग गर्ने बताइएको छ । औषधिले काम गरेको नगरेको हेर्नका लागि गुल्मी अस्पतालमा भाइरल लोड परीक्षण सेवा सञ्चालनमा ल्याइएको छ । यहाँ आर्थिक वर्ष २०७९/०८० मा १८२ जनाले परीक्षण गराउनुभयो ।

अस्पतालमा एचआइभी परीक्षण र परामर्श सेवा, एन्टिरेट्रोभाइरल थेरापी, एसटीआइ परीक्षण र उपचार सेवा, टिबी स्क्रिनिङ सेवा, अवसरवादी सङ्क्रमणको उपचार, भाइरल लोड लगायतका सेवाहरू यहाँबाट दिइने बताइएको छ । यस जिल्लामा राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) नेपाल, हाम्रो जीवन प्लस र इपिक नेपालले एचआइभी परीक्षण गर्दै आएका छन् भने सङ्क्रमित हो होइन भनी गुल्मी अस्पतालले प्रमाणित गर्ने एआरटी सेन्टरका फोकल पर्सन पुष्कर घिमिरे बताउनुभयो ।