• १२ साउन २०८१, शनिबार

मान्छे टोक्ने कुकुरको बन्ध्याकरण

blog

कुकुरको बन्ध्याकरण गरिँदै । तस्बिर : गोकर्ण पौडेल

गोकर्ण पौडेल 

तुलसीपुर, मङ्सिर २० गते । तुलसीपुर उपमहानगरपालिका–१७ र १८ का विभिन्न ठाउँमा सामुदायिक कुकुरले बालबालिका र जीवजन्तुलाई टोक्न थालेपछि बन्ध्याकरण सुरु गरिएको छ । 

तुलसीपुर उपमहानगरपालिका–१८ को बेलझुण्डी गौशालामा गाईबस्तु खोरेतका कारण मरेका थिए । ती गाईको सिनो खाएका कुकुरले गाउँ–गाउँमा डुल्दै मानिस र जीवजन्तुलाई टोक्न थालेपछि कुकुरको बन्ध्याकरण गर्न सुरु गरिएको वडा–१८ का वडाध्यक्ष माधव वलीले बताउनुभयो । 

उहाँले एक हप्ताको अवधिमा सामुदायिक कुकुरले पाँच जनालाई टोकेका छन् । एक जना बालकलाई घाइते बनाएका छन् । भेटेरिनरी पशुविज्ञ केन्द्र घोराही, हर्ट नेपाल पोखरा र तुलसीपुर उपमहानगरपालिका–१८ ले सामुदायिक कुकुर बन्ध्याकरण सुरु गरेको जनाएको छ । बुधबारदेखि तुलसीपुर उपमहानगरपालिका-१८ मा रहेको पशुपंन्क्षी उपचार केन्द्रमा राखेर बन्ध्याकरण सुरु गरिएको छ ।  

हर्ट नेपालका अध्यक्ष  खगेश्वर भट्टराईले नेपालमा रेबिज रोगका कारण प्रत्येक वर्ष दुईसय बढीले अनाहकमा ज्यान गुमाउनु परेको बताउनुभयो । उहाँले सामुदायिक कुकुरलाई संख्यात्मकरुपले कम गर्न बन्ध्याकरण नै अन्तिम विकल्प भएको बताउनुभयो । 

पशु भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र दाङका निमित्त कार्यालय प्रमुख प्रतिमा विष्टले यस क्षेत्रका कुकुरको सङ्ख्या बढी भएको र मानिसलाई टोक्न थालेपछि वडा कार्यालयको सहकार्यमा सामुदायिक कुकुर बन्ध्याकरण गरिएको बताउनुभयो । 

उहाँले  एक हप्ताअघि मात्र राप्ती गाउँपालिकामा तीनसय सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले यस क्षेत्रमा कुकुरको सङ्ख्या बढी भएको र मानवीय क्षति गर्न थालेपछि बन्ध्याकरण सुरु गरिएको बताउनुभयो । 

उहाँले आगामी वर्षको बजेटमा १९ वटै वडाका सामुदायिक कुकुर बन्ध्याकरणका लागि बजेटमै व्यवस्थापन गरिने बताउनुभयो । चार दिनसम्म चल्ने शिविरमा बुधबारसम्म यस क्षेत्रमा भएका ७३ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ ।