• २ जेठ २०८२, शुक्रबार

एमालेको सङ्कल्प यात्रा बागलुङ पुग्यो

blog

बागलुङको पातिहाल्ने डाँडामा अध्यक्ष ओलीलाई स्वागत गरिँदै । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

बगलुङ, मङ्सिर २० गते । नेकपा (एमाले) को जारी मध्यपहाडी लोकमार्गको सङ्कल्प यात्रा आज बुधवार गण्डकी प्रदेशमा प्रवेश गरेको छ । ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ सातौँ दिनमा बागलुङ प्रवेश गरेको हो । 

पूर्व प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीसहितको टोली गण्डकी प्रदेशको बागलुङ आइपुगेको छ । सुदूरपश्चिमको बैतडीस्थित झुलाघाटबाट अघि बढेको टोली कर्णाली, लुम्बिनी हुँदै गण्डकी प्रदेशको बागलुङ आइपुगेको एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले जानकारी दिनुभयो । 

अध्यक्ष ओली नेतृत्वको टोलीलाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, एमाले गण्डकीका इन्चार्ज सचिव गोकर्ण विष्ट र अध्यक्ष नवराज शर्मासहित गण्डकीका नेताहरूले रुकुम र बागलुङको सीमाक्षेत्र पतिहाल्ने डाँडामा स्वागत गर्नुभएको छ । 

अध्यक्ष ओलीसहितका नेताहरूले आज बागलुङका विभिन्न ठाउँमा कार्यकर्ताहरू भेटघाट, स्थानीयवासीहरुसँग छलफल, अन्तरक्रिया र भोलि बागलुङ बजारमा आयोजित बहस कार्यक्रम सहभागी हुने कार्यक्रम तय गरिएको नेकपा (एमाले) बागलुङका अध्यक्ष हिराबहादुर केसीले जानकारी दिनुभयो ।