• १२ साउन २०८१, शनिबार

वर्षमा ६४ एचआइभी सङ्क्रमितको मृत्यु

blog

अविनाश चौधरी

धनगढी, मङ्सिर २० गते । सुदूरपश्चिम प्रदेशमा एक वर्षमा ६४ जना एचआइभी एड्स सङ्क्रमितको ज्यान गएको छ । गत आर्थिक वर्षमा सो सङ्ख्या सङ्क्रमितले ज्यान गुमाएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । ज्यान गुमाउनेमा २४ महिला, ४३ पुरुष र एक जना यौनिक अल्पसङ्ख्यक रहेका छन् । 

प्रदेशमा हाल चार हजार ६३९ जनामा एचआइभी सङ्क्रमण पत्ता लागेको छ । यद्यपि, जम्मा सङ्क्रमितको सङ्ख्या पाँच हजार १९० हुन सक्ने निर्देशनालयको अनुमान छ । पत्ता लागेका सङ्क्रमितमध्ये तीन हजार ६२३ जनाले उपचार गराइरहेका छन् । 

कैलालीमा एक हजार ७०९, कञ्चनपुरमा ४१५, अछाममा ५९२, डोटीमा ४८५, डडेलधुरामा १०८, बैतडीमा १२१, दार्चुलामा ४२, बझाङमा ८९ र बाजुरामा ६२ जनाले एआरटी उपचार सेवा लिइरहेको निर्देशनालयले जानकारी दिएको छ । 

यसैगरी, पछिल्लो एक वर्षमा २५२ जना एचआइभी सङ्क्रमित थपिएका छन् । आर्थिक वर्ष २०७९–८० मा सो सङ्ख्यामा नयाँ सङ्क्रमित थपिएका हुन् । थपिएका सङ्क्रमितमा १०३ जना महिला, १४७ जना पुरुष र दुई जना यौनिक अल्पसङ्ख्यक रहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

निर्देशनालयका अनुसार कैलालीमा १२०, कञ्चनपुरमा ५३, अछाममा २८, डोटीमा २४, डडेलधुरामा छ, बैतडीमा आठ, दार्चुलामा एक, बझाङ र बाजुरामा छ–छ जना नयाँ सङ्क्रमित थपिएका छन् । 

गत आर्थिक वर्षमा एक लाख ४४ हजार ६४९ जनाले एचआइभी जाँच गराएका थिए । जसमध्ये ५३ हजार ९०८ जना गर्भवती आमा रहेको निर्देशनालयका एचआइभी स्रोतव्यक्ति मनोजप्रसाद ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार चार जना आमा एचआइभी सङ्क्रमित पाइएको छ । 

सुदूरपश्चिमका मान्छेहरू रोजगारीको सिलसिलामा भारतमा जाँदा उतैबाट एचआइभी एड्स बोकेर आउनेगरेको बताइन्छ । रोजगारीको सिलसिलामा भारत गएर प्राणघातक रोग एचआइभीको सिकार भएकाहरूले फर्केर श्रीमतीलाई सोही रोग सार्ने गरेका छन् ।