• १८ वैशाख २०८१, मङ्गलबार

लोप भयो समुद्री गाई

blog

आमरूपमा समुद्री गाई भनिने एउटा जीव चीनबाट लोप भएको छ । सामुद्रिक स्तनधारी जीव डुगोङ्ग लोप भएको घोषणा वैज्ञानिकहरूले गरेका छन् । 

शताब्दीयौँदेखि रेकर्डमा रहेको यो जीव दुई दशकयता नदेखिएको वैज्ञानिकहरूको भनाइ छ । वैज्ञानिकहरूको एक अन्तर्राष्ट्रिय टोलीले हालै यस विषयमा अनुसन्धान गरेको थियो । चार वटा चिनियाँ प्रान्तमा स्थानीय माछा मार्ने समुदायमा सर्भेक्षण गरी हराएको डुगोङ्ग जीवका बारेमा सबुत खोज्ने प्रयास गरियो ।

सन् १९६० ताका डुगोङ्ग ठूलो सङ्ख्यामा पाइन्थे तर सन् १९७५ देखि यसको सङ्ख्यामा कमी आउन थालेको थियो । सन् २००८ यता डुगोङ्गलाई कुनै पनि माझीले नदेखेको बताएका छन् । चिनियाँ वैज्ञानिकहरूले त सन् २००० यता नै यो जीव देखेका छैनन् । 

यो समुद्री गाईको शरीर मोटो, चौडा हुनुका साथै डल्फिनको जस्तै शरीर र पुच्छर हुन्छ । वयस्क जीवको लम्बाइ १३ फिट र तौल चार सय किलोभन्दा धेरै हुन्छ । यो जीव गाईजस्तै सामुद्रिक घाँस चर्ने गर्दछ । यो विश्वमा हालसम्म पाइएकामध्ये एक मात्र शाकाहारी सामुद्रिक स्तनधारी जीव हो ।