• १५ कात्तिक २०८१, बिहिबार

कृषिमा आत्मनिर्भर बनाउने सक्रियता

blog

बैतडी जिल्लाको तल्लोस्वराड क्षेत्रमा पर्ने शिवनाथ गाउँपालिका १० वटा स्थानीय तहमध्ये दुर्गम गाउँपालिका हो । डडेलधुरा जिल्ला र छिमेकी राष्ट्र भारतसँग जोडिएको यो गाउँपालिकामा कुल छ वटा वडा रहेका छन् । स्थानीय तहमा दोस्रो कार्यकालमा समेत गाउँपालिका अध्यक्ष हुनुभएका नेपाली कांग्रेसका कर्णसिंह साउदसँग गोरखापत्रका लागि बैतडी समाचारदाता गोकर्ण दयालले स्थानीय सरकारको कामकारबाही तथा उपलब्धिका विषयमा गर्नुभएको कुराकानी :

स्थानीय तहको चुनावमा जनतासामु गरेका प्रतिबद्धता के कति पूरा गर्नुभयो ? 

स्थानीय तहको निर्वाचनमा जनताले अत्यन्तै माया र आशा भरोसा गरेर मलाई पुनः दोस्रो कार्यकालका लागि गरिमामय पदमा पु¥याएका छन् । चुनाव जितेर स्थानीय तहको नेतृत्व गर्दा शिवनाथ गाउँपालिकाका सबै वडामा सडक पु¥याएका छौँ ।  खानेपानीको चर्को समस्या भोगिरहेका वडा नम्बर ४, ५ र ६ मा एक करोड रुपियाँभन्दा बढी लगानीमा १२ वटा परियोजना निर्माण भएका छन् । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगमा थप नौ वटा खानेपानीका योजना निर्माण सम्पन्न भएका  छन् ।  


गाउँपालिकामा दरबन्दी अनुसार कर्मचारी छन् ?

कर्मचारीको सन्दर्भमा गाउँपालिकाले निकै समस्या खेप्नु परेको छ । दरबन्दी अनुसार अधिकृत छैटौँ र सातौँ तहका प्रशासनिक कर्मचारी एक जना पनि छैनन् । प्राविधिकतर्फ इन्जिनियर र सबइन्जिनियर छैनन् । एउटाबाहेक पाँच वटा वडामा सचिव छैनन् । करार र निमित्तका भरमा गाउँपालिका सञ्चालन गर्नु पर्दा निकै समस्या हुने गरेको छ । केन्द्रीय सरकारले नै प्रमुख प्रशासकीय अधिकृत पठाएकै केही दिनमा अन्यन्त्र सरुवा गरिदिँदा झन् समस्या भएको छ । 


स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न पालिकाले के कस्ता काम गरिरहेको छ ? 

गाउँपालिकावासीलाई कृषिमा आत्मनिर्भर बनाउन एक घर एक पोलिहाउस वितरण गरेर मौसमी तथा बेमौसमी तरकारी खेतीलाई प्राथमिकता दिएका छौँ । यसबिचमा करिब पाँच सय पोलिहाउस वितरण गरिसकेका छौँ । बाख्रा वितरण पनि गरिएको छ । अगुवा किसानलाई खोर सुधारको कार्यक्रम दिएका छौँ । दुध र अण्डामा आत्मनिर्भर बनाउन उन्नत जातका गाई र कुखुरा वितरण गरेका छौँ । दुई रोपनीभन्दा बढी जग्गामा अदुवा र बेसार खेती गर्न २० जना किसानलाई एक/एक क्विन्टल अदुवा र बेसारको बिउ वितरण गरी उत्पादन सुरु भइसकेको छ । योबाहेक सबै वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम निरन्तर सञ्चालित छ । यसमा सयौँले रोजगारी पाएका छन् । 


शिक्षा र स्वास्थ्यतर्फ गाउँपालिकामा के कस्तो सुधारका काम भइरहेका छन् ? 

शिक्षातर्फ १० वटा नयाँ सुविधासम्पन्न विद्यालय भवन निर्माण गरेका छौँ । स्वास्थ्यतर्फ तीन वटा आधारभूत स्वास्थ्य चौकी र १६ वटा प्रसूति केन्द्रको भवन बनाएका छौँ । १० शøयाको पालिकास्तरीय अस्पताल निर्माणको काम अघि बढेको छ । सर्वसाधारण नागरिकलाई अस्पताल जान आउन अक्सिजनसहितको एम्बुलेन्स सेवा नियमित गरेका छौँ । 


पर्यटन विकासका लागि पालिकाले कस्तो रणनीति बनाएको छ ? 

पर्यटनतर्फ ऐतिहासिक शर्मालीगढी किल्लाको संरक्षण, प्रचारप्रसार र प्रवर्धनका लागि गुरुयोजना नै बनाएर काम गरिरहेका छौँ । प्राचीन किल्ला पुनर्निर्माण गर्न चार करोड रुपियाँ लागतको विस्तृत अध्ययन प्रतिवेदन (गुरुयोजना) तयार गरेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाइएको छ । शिवनाथ गाउँपालिका–२, शर्मालीमा रहेको ऐतिहासिक किल्ला पुनर्निर्माण गर्न पाँच लाख रुपियाँ खर्च गरेर डिपिआर तयार गरेको हो । गाउँपालिकाको बजेटले किल्ला पुनर्निर्माण गर्न नसक्ने भएकाले आवश्यक बजेटका लागि मन्त्रालयमा विस्तृत अध्ययन प्रतिवेदन बुझाएका छौँ । नेपाल–अङ्ग्रेज युद्धका बेला सन् १८१४ देखि १८१६ सम्म सामरिक महत्वका हिसाबले शर्मालीगढी किल्ला महत्वपूर्ण र वीरताको प्रतीक (किल्ला) हो । अङ्ग्रेजसँगको लडाइँका बेला डडेलधुराको अमरगढी किल्लाबाट बैतडीको शर्मालीगढी हुँदै तत्कालीन सेना नालापानी किल्ला पुगेको इतिहास छ । 


धार्मिक स्थलको पुनर्निर्माण तथा संरक्षणका लागि के काम गरिरहनुभएको छ ?   

धार्मिक दृष्टिकोणले महत्वपूर्ण शिवनाथ मन्दिर जाने ढुङ्गाको सिँढी निर्माण गरेका छौँ । यस मन्दिरमा भारतबाट समेत धार्मिकयात्री तथा पर्यटकको घुइँचो लाग्ने गर्छ । महाली नदीमा डुङ्गा तरेर भए पनि भारतीय नागरिक शिवनाथको मेला भर्न आउने गरेका छन् । यो मन्दिरसँगै जोडिएको ऐतिहासिक भानमती धारा संरक्षण गर्न एक लाख रुपियाँ खर्च गरेर पुनर्निर्माणको काम सम्पन्न गरेका छौँ । अन्य धार्मिक सम्पदा तथा मन्दिरको पुनर्निर्माण र संरक्षण गर्ने काम भइरहेको छ ।


स्थानीयस्तरमा सडक निर्माण गर्दा पर्यावरणीय अध्ययन नै नगरी डोजर लगाउने प्रचलनले खानेपानीको मुहान सुकेको गुनासो छ नि ? 

वातावरण तथा पर्यावरणीय अध्ययनको मामलामा चाहिँ गाउँपालिका चुकेकै हो । यो गल्ती महसुस गरेर हामीले वृक्षरोपणका कार्यक्रम अघि बढाएका छौँ । सदियौँदेखि भारी बोकेर खानुपर्ने शिवनाथ गाउँपालिकावासीको पीडामा मलम लगाउन सकिन्छ कि भनेर प्रत्येक वडामा सडक पु¥याएका हौँ । गाउँपालिका बन्ने बेला कुनै पनि वडामा सडकको नाम निसाना नै थिएन । अहिले सबै वडामा सडक पुगेको छ । वडा नम्बर ४ को सुर्नया नदीमा बैतडी–डडेलधुरा जोड्न दुई वटा झोलुङ्गे पुल निर्माण भएका छन् । यो खुसीको कुरा हो तर सडक निर्माण गर्दा डोजरका कारणले पानीका मुहान सुक्न थालेपछि मुहान संरक्षण गर्न वृक्षरोपण र आकाशे पोखरी निर्माण गरेर मुहान पुनर्भरणको व्यवस्था गरेका छौँ । वडा नम्बर ६ मा चार वटा पुनर्भरण पोखरी निर्माण गरेका छौँ । यो अभियान सबै वडामा लागु भएको छ । विकाससँगै विनाश होइन, व्यवस्थित र दिगो बनाउन सक्रिय छौँ ।