• १४ असार २०८१, शुक्रबार

हात्तीसँगै रत्तिएका छन् गैँडा

blog

भक्तिविलास पोखरेल 

गाईघाट, मङ्सिर २० गते । पूर्व नेपालको कोशीटप्पु वन्यजन्तु आरक्षमा दुई महिनाअघि मात्र चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरी ल्याइएका पुष्पा र अञ्जली नामका दुई वटा पोथी गैँडा त्यहाँस्थित कोशीकली र कुसाहाकली नामका दुई वटा हात्तीसँगै रत्तिएका छन् ।

 गाईभैँसीले झैँ कलिलो भुइँघाँसमा चर्न अत्यन्तै मन पराउने पुष्पा र अञ्जलीलाई आरक्ष कार्यालयले स्वतन्त्र रूपले भने अझै जङ्गलमा हिँडडुल गर्न र चर्न दिएको छैन । पश्चिम सेक्टर पत्थरी सप्तरीस्थित आरक्ष कार्यालयको पूर्वतर्फको घाँसेमैदानमा भने उनीहरूलाई बिहान ७ बजेदेखि ९ बजेसम्म दुई घण्टा स्वतन्त्र रूपले हिँडडुल गर्न पाउने गरी खुला नै छोडिदिने गरिएको छ । दिउँसो भने हात्तीसँगै ठुलो जङ्गलमा चराउन लगिन्छ ।

कलिलो घाँसबाहेक पिपल, खयर, शमी, आँप र टाँकी प्रजातिका डाले घाँसमा पनि उनीहरू रमाउने गरेको गैँडा चराउँदै आएका गोठाला दुर्गानन्द यादवले बताउनुभयो । यादवका अनुसार आरक्षको क्षेत्रभित्रमा पनि त्रियुगा र मोरियाखेला बिचको कमलपुर क्षेत्रमा गैँडाका लागि बाह्रैमास अति उपयोगी भुइँघाँस पाइने ठाउँ भए पनि त्यो ठाउँमा अझै गैँडालाई चराउन लैजान सकिएको छैन ।  कोशीकली र कुसाहाकलीमा भने दिनभरि नै माउते बसिरहनु पर्छ । कलिलै उमेरका ती दुई हात्ती चराउँदा जङ्गलमा पुगेर माउते ओर्लियो भने फेरि तिनीहरूलाई हात्तिसारसम्म फर्काएर ल्याउन कठिन हुने भएकाले बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हात्तीकै ढाडमा बसेर आपूmहरूको दिन बित्ने गरेको माउतेहरू बताउँछन् । 

निकुञ्ज प्रशासनले हात्तीको हेरचाहका लागि सुब्बा स्तरका सहित छ जनाको दरबन्दी कायम गरेर जनशक्ति परिचालन गरेको छ तर गैँडाका लागि कुनै जनशक्ति नभएकाले गैँडा चराउन कठिन हुँदै आएको गैँडा गोठाला यादव बताउनुहुन्छ । हरेक दिन हात्तीसँगै गैँडालाई पनि चराउन ठुलो जङ्गल लैजानुपर्ने र एकदिन आपूm बिरामी परियो या अन्यत्रतिर जरुरी काम परेर जानुपर्ने भयो भने त्यो दिन गैँडा भोकै पर्न सक्ने स्थिति रहेको उहाँको भनाइ छ । आरक्ष प्रशासनले गैँडा चराउनका लागि तत्काल कम्तीमा दुई जना जनशक्तिको प्रबन्ध गर्न आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

जैविक विविधताले भरिपूर्ण रहेको पूर्वी तराईको प्रमुख आकर्षक सिमसार कोशीटप्पु वन्यजन्तु आरक्षलाई कोशी प्रदेशको उत्कृष्ट पर्यटकीय गन्तव्य स्थल बनाउने उद्देश्यले विगतमा प्रस्ताव गरिएका तीन वटा योजनामध्येको गैँडा संरक्षणका लागि स्थानान्तरण गरी ल्याउने सरकारको यो महìवपूर्ण योजना हो । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग तथा स्थानीयले अगाडि सारेका विभिन्न योजनामध्ये महìवपूर्ण भनिएकोे आरक्षको क्षेत्र विस्तार गर्ने, आरक्षलाई राष्ट्रिय निकुञ्जमा रूपान्तरण गर्ने र चितवन राष्ट्रिय निकुञ्जबाट गैँडा हस्तान्तरण गर्ने योजना रहेकोमा विश्व वातावरण दिवस २०२३ को उपलक्ष्यमा गएको असोज १० गते चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका ती दुई वटा गैँडा कोशीटप्पु वन्यजन्तु आरक्षलाई हस्तान्तरण गरिएको थियो । 

सङ्घीय सरकारका वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले पुष्पा र अञ्जली नामका दुई वटा एक सिङ्गे पोथी गैँडा कोशीटप्पु वन्यजन्तु आरक्षलाई हस्तान्तरण गरेकै दिन अब यस क्षेत्रमा पर्या–पर्यटनको विकास गर्ने गरी मन्त्रालयले काम गरिरहेको र आरक्षको क्षेत्र विस्तारको अहिले अध्ययन भइरहेको बताउनुहुन्छ । उहाँका अनुसार कोशीटप्पु वन्यजन्तु आरक्षमा अर्ना, अजिङ्गर, चराहरू, हात्ती र बँदेल मात्र नभएर गैँडा, कृष्णसार र बाघसमेतको बासस्थान बनाउने गरी मन्त्रालयले काम गरिरहेको भए पनि अहिलेसम्म ती कामहरू बाँकी नै छन् ।

भाले गैँडा पनि यहाँ ल्याइने र यस आरक्षमा गैँडाको प्रजनन केन्द्रसमेत बन्न सक्ने वन्यजन्तु विज्ञहरूको अध्ययनले देखाएको भए पनि ती कामहरू हुने व्रmममा रहेको कोशीटप्पु आरक्षका प्रमुख संरक्षक अधिकृत रमेशकुमार यादवले बताउनुभयो । 

उहाँका अनुसार कमलपुर सेक्टमा विद्युतीय तारबार निर्माण गर्ने र सो क्षेत्रमा अहिलेको उद्धार केन्द्रबाट झिकेर गैँडालाई लगिने अनि भाले गैँडासमेत ल्याएर यसै ठाउँमा गैँडाको प्रजनन केन्द्रका रूपमा विकास गर्न नेपाल सरकारले निर्णय गरिसकेकाले अब योजना अनुसारको काम अगाडि बढ्ने बताउनुभयो ।    

संरक्षित क्षेत्रको वर्गीकरण अनुसार वन्यजन्तु आरक्षको अस्तित्वमा रहेको रैथाने अर्ना पाइने नेपालको एक मात्र सो आरक्षलाई पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य स्थल बनाउने उद्देश्यले विगत लामो समयको अध्ययन अनुसन्धानपछि मात्रै यहाँ गैँडा ल्याइएको संरक्षण अधिकृत यादवले बताउनुभयो । 

उदयपुर, सुनसरी र सप्तरी जिल्लाको त्रिकोणात्मक सीमाभित्र एक सय ७५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको विश्व संरक्षण सङ्घको चौथो श्रेणीमा सूचीकृत यो आरक्षमा पाँच सय ८७ प्रजातिका नदी तटीय वनस्पति, अर्ना, जङ्गली हात्ती, डल्फिन, सालकलगायत ४० प्रजातिका स्तनधारी जनावर तथा खरमुजुर, कालो भुडिफोर र सेतो भुडिफोरलगायत सात सय २६ प्रजातिका चराहरू, एक सय ४१ प्रजातिका माछा तथा ७७ प्रजातिका पुतलीको बाहुल्यता रहेकोमा गैँडा पनि थपिएको छ ।

सरकारले अर्ना संरक्षण गर्ने उद्देश्यले २०३२ सालमा आरक्षको घोषणा गर्दा ६३ वटा मात्र अर्ना रहेकोमा हाल त्यो सङ्ख्या बढेर चार सयभन्दा बढी छ । पाटे बाघ र चितुवा जस्ता ठुला मांसाहारी जनावर नभएकाले अर्नाको सङ्ख्यामा वृद्धि भएको हो । पूर्वी नेपालको तराई मधेशमा पाइने वन, वनस्पति, हावापानी र जैविक विविधताको प्रतिनिधित्व गर्ने यस आरक्षमा चराचुरुङ्गीको अध्ययन, अनुसन्धान र अवलोकनका लागि पनि उत्तिकै उत्कृष्ट गन्तव्य मानिन्छ । 

आसाम, सिलगढीलगायत पूर्वी भारतका वन्यजन्तुहरूको जैविक मार्गका रूपमा रहेको यो आरक्षको चारैतर्फ भरपर्दाे सुरक्षा घेरा निर्माण हुन नसक्दा बेला बेलामा यहाँबाट बाहिर निस्कने जनावरहरूले स्थानीयको बालीनाली नष्ट गर्ने र कहिलेकाहीँ त मानवीय क्षतिसमेत गर्ने गरेको स्थानीयहरू बताउँछन् ।